गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्न लागेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’ मा प्रमुख वक्ताका रुपमा सहभागी हुन नेपालका अर्थमन्त्री युवराज खतिवडा लन्डन आइपुगेका छन् । बिहिबार दिउँसो लन्डनस्थित हिथ्रो एअर्पोर्टमा उनलाई स्वागत गरिएको थियो । आउदो महिना नेपाल सरकारले तय गरेको लगानी सम्मेलनका लागि बेलायतबाट लगानीकर्ता भित्र्याउने उद्देश्यस्वरूप आफू बेलायत आएको मन्त्री खतिवडाले बताएका छन् । नेपाललाई एक उपयुक्त र विश्वसनीय लगानी केन्द्रका रुपमा विकास गर्ने नेपाल सरकारको उद्देश्य रहेको छ । नेपालमा लगानी शिखर सम्मेलनको तय गरिएको हुँदा बेलायत नेपाल द्विपक्षीय सम्वन्ध अभिवृद्धि र बेलायती सहायता वृद्धिको पहल पनि अर्को उद्देश्य रहेको उनले सुनाए । शुक्रबारसम्म लन्डनमा रहंदा मन्त्री खतिवडाले बेलायती उच्च पदस्थ अधिकारीहरुसंग समेत छलफल गर्न लागेको बताए । डिएफआइडी मन्त्री लगायतको भेटमा नेपाललाई बेलायती सहायता वृद्धि र भूतपूर्व गोर्खा मागबारे छलफल हुने मन्त्रीले जानकारी दिए । गोर्खा समस्या कुटनीतिक भएकाले नेपाल सरकारले बेलायत सरकारसंग यसको समाधानका लागि पहल गरिरहेको मन्त्रीको भनाइ थियो ।
अर्थमन्त्री युवराज खतिवडाले लन्डनमा भएको एक अन्तरक्रियामा के भने ? हेर्नुहोस पूरा भीडीयो ।
[embedyt] https://www.youtube.com/watch?v=V8qWMOo5DPw[/embedyt]
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बिहीबार साँझ अर्थमन्त्री खतिवडा उपस्थित भएका थिए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके संरक्षक योगेन क्षेत्री, साइप्रस बस्ने रन्जित महतो, एनआरएनए यूके उपाध्यक्ष प्रेमगाहा मगर लगायतले बोलेका थिए । प्रतिपक्षीहरुले लगाउदै आएको आरोप गलत रहेको बताउदै नेपालमा प्रगतिशील कर प्रणाली लागू गरिएको बताए । आइएमएफको हालैको प्रतिवेदनले नै नेपालको अर्थतन्त्र वृद्धि भइरहेको देखाएको छ’, एकपटक तेसको अध्ययन गर्नको लागि अनुरोध गर्दै उनले भने, ‘हामी ८ प्रतिशतको आर्थिक वृद्धि राख्ने भन्दैछौं । अहिले ७ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हांसिल भइरहेको छ । इतिहासमा पहिलो पटक त्यति आर्थिक वृद्धि हांसिल भएको हो ।
मन्त्री खतिवडाले नेपालको पैसा विदेशमा नजाओस् तर वैदेशिक लगानी खुल्ला दिलले स्वागत गर्ने भन्ने सरकारको नीति रहेको पनि सुनाए । उनले अवैध ढंगले पुंजी विदेशमा गएको हो भने सम्पति शुद्धीकरणको कानुनी कार्यान्वयन गर्न सरकार कटिवद्ध रहेको र एक टोलीले यसको अध्ययन थालेको पनि बताए । विश्वमा हरेक देशका भन्सार प्रणाली र झिटी गुन्टाका आ आफ्नै नियम हुने प्रष्टयाउंदै उनले ठूला विकसित देशमा हुंदा त्यही कुरा चुपचाप सहने तर नेपालमा शंका लागेको व्यक्तिमाथि छानवीन हुंदा अत्यन्तै आपत्ति जनाउने प्रवृत्ति समेत औंल्याए ।
सोहि कार्यक्रममा नेपाली जनसम्पर्क बेलायतका तर्फबाट मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाइएको थियो । उक्त ज्ञापन पत्रमा वर्तमान सरकार असफल रहेको दावी गर्दै देशको अर्थतन्त्र, वैदेशिक नीति र वैदेशिक लगानी प्रभावहीन रहेको लगायत अपराधीहरुले प्रश्रय पाइरहेको जस्ता आरोप लगाइएको थियो । सो ज्ञापनपत्र खुसि लिम्बुले पढेर सुनाएका थिए । प्रतिपक्ष नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुंगले सरकारले देशमा अधिनायकवादको शासन लागू गरेको आरोप लगाउंदै दुई तिहाइको दम्भ दिने कम्युनिष्ट सरकारले कांग्रेसलाई राजनीतिक दलको हैसियत नदिएको बताए । एनआरएनए यूके उपाध्यक्ष शेरबहादुर सुनारले गोर्खा पेन्सन र अहिले भर्खर ४०० जना युवा गोर्खा भर्तीबाट बेलायत आएवापत नेपाल सरकारले केहि पाउछ कि पाउदैन भन्ने बारेमा प्रष्ट पार्नको लागि अनुरोध गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव आर के त्रिपाठीले गरेका थिए । फोटो हेर्न यहाँ क्लिक गर्नुहोला ।





