पोखरामा नयाँ प्याराग्लाईडिङ कम्पनी दर्ता गर्न नपाएपछि धमाधम बागलुङका गाउँमा परीक्षण उडान शुरु भएका छन् । बागलुङको गलकोटका दुई स्थान र बलेवामा उडान परीक्षण भएका हुन् . बलेवामा महोत्सवको अवसरमा परीक्षण गर्दा उडान सफल भएको छ । ती क्षेत्रमा व्यवसायिक उडान भर्न सकिने समेत कम्पनीका प्रतिनिधिले बताएका छन् । गलकोटको राम्चेढुंगालाई पर्यटन क्षेत्र बनाउन स्थानीयले थालेको अभियानका लागि पोखरादेखि व्यवसायिक उडान भरिरहेका प्याराग्लाईडिङ टेन्डम पाईलट ल्याएर परीक्षण गरिसकेका हुन् । बलेवास्थित नारायणस्थान, पैंयुपाटा र अमलाचौरलाई समेट्ने गरी अर्को परीक्षण भएको हो । ‘अहिले सम्मका परीक्षण उडानमा बलेवाको परीक्षण राम्रो पायौं’ लेकभ्याली प्याराग्लाईडिङ कम्पनीका टेन्डम पाईलट टेकबहादुर थापाले भने, ‘हावाको गती, भूगोल र दृश्याबलोकन उत्कृष्ठ छ ।’ पोखरा, धरान र स्याङजाको तुलनामा यो बढी आर्कषक उडान गर्न सकिने उनले बताए । यहाँ न्युनतम १२ मिनेटदेखि एक घण्टा सम्मको उडान गर्न सकिने भूगोल मिलेको उनले बताएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । यहाँ उडान भर्नका लागि बलेवास्थित ४ वटा वडाका जनप्रतिनिधि, संघसंस्थाहरुले पहल गरिरहेका छन् ।
बागलुङकै भकुण्डेस्थित मुलाबारीबाट पनि उडान भर्न सकिने गरी परीक्षण गरिने वडा अध्यक्ष प्रेमबहादुर थापाले बताए । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बन्ने भएपछि थप कम्पनी दर्ता रोकिएको हो । पर्यटकहरुले पनि पोखरा बाहेकका अन्य धेरै गन्तव्य रोज्न थालेपछि ती क्षेत्रमा पनि साहसिक उडानको खोजी गर्दै कम्पनीहरु आएको उनीहरुले बताए । गलकोटको राम्चेढुंगा र निलुवामा रनवे निर्माणका लागि नगरपालिकाले समेत लगानीको तयारी गरेको छ । ‘चालु बर्षका लागि ३ लाख रुपैयाँ बजेट छुट्टयाएर कामको तयारी गरेका छौं’ गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले भनिन्, ‘पूर्वाधार बनाएर स्थानीयलाई रोजगारी पनि सिर्जना गर्न खोजिएको छ ।’ बिदेशी पर्यटकले मात्र रुचाउने साहसिक खेल आजकल धेरै नपालीले चाहने गर्छन् । रनवेसँगै सुरक्षित अवतरणका लागिपनि दुईदेखि चारवटा स्थलको खोजी भैरहेको समेत काउचाले बताईन् । बलेवामा पनि हवाई मैदान भएकोले हवाईजहाज नआउने समय पारेर ओर्लने स्थानको खोजी गर्न कंपनीका प्रतिनिधिले जनप्रतिनिधिलाई सुझाव दिएका छन् । छिटफुट रुपमा जहाज आउने भएकोले समय छलेर पनि प्याराग्लाईडिङ गर्न सकिने नारायणस्थान सेवा समाजका अध्यक्ष भरत पौडेलले बताए । ‘साहसिक खेल पनि संचालन गर्ने र पर्यटक आवागममा पनि सहयोग गर्ने हो’ पौडेलले भने, ‘हवाई मैदानमा नियमित जहाज आएमा प्याराग्लाईडिङका लागि पनि थप सहयोग हुनेछ ।’ परीक्षण सफल भएका सबै क्षेत्रमा लगानी गर्न र पर्यटक भित्राउन नगरपालिकाले समेत कार्यक्रम बनाउनुपर्ने उनले सुभाव दिए । १ हजार ८ सय मीटर सम्मका डाँडामा उडान बढी सफल भएको थाहा पाएपछि जनप्रतिनिधिले आफ्ना वडामा कम्पनीलाई डाकिरहेका छन् । नगरपालिकाहरुले पनि आफ्ना वार्षिक कार्यक्रममा संभाव्यता अध्ययन गरी पूर्वाधार निर्माण र संचालनमा पहल गर्ने योजना बनाएका छन् । पर्यटन बिकासका शिर्षकमा बागलुङ र गलकोट नगरपालिकाका हरेक गाउँमा प्याराग्लाईडिङको बिषय समावेश गरिएको हो ।
यसैबीच, दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास (होमस्टे)ले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो । पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् । परीक्षण उडानपछि विपीन परियारले लुम्राङ र देउरालीडाँडा प्याराग्लाइडिङ उडान गर्नका लागि र रानीपानीमा रहेको इमिचौर अवतरण गर्नका लागि उत्तम स्थान रहेको बताए । आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गर्न सकेमा व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने चालक रमेश नेपालीले बताए । प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको हो ।
जनमञ्च





