पोखरा – गण्डकी मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग लिएको अस्वभाविक शुल्क फिर्ताको माग राखेर डेढ हप्तादेखि आन्दोलन गर्दा समेत प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीले रिले अनशन थालेका छन् ।
आन्दोलन थालेको लामो समय बितिसक्दा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै आइतवारदेखि विद्यार्थीले रिले अनशन शुरू गरेका हुन् ।
सरकारले तोकेको शुल्कमै आफूहरूले पढ्न पाउनुपर्ने, कलेजले आफूखुशी लिएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र आफूहरूले बुझाएको शुल्कको बिल पाउनुपर्ने विद्यार्थीको माग छ ।
अस्पतालका विद्यार्थी १० दिनदेखि आन्दोलनमा छन् । यसअवधिमा ४ पटकसम्म अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थी पक्षबीच वार्ता भइसकेको छ । तर ४–४ पटकसम्म भएको वार्तामा पनि कलेज प्रशासनले विद्यार्थीबाट असुल्दै आएको १० देखि १५ लाख रुपैयाँसम्मको रकम कुनै पनि हालतमा नछाड्ने अड्डी कसेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
कलेज प्रशासनसँगको वार्ताले निकास ननिस्कने भन्दै विद्यार्थीले कक्षाकोठा ओपीडीमा गत हप्तादेखि तालाबन्दी गरेका छन् ।
प्रशासनले वार्तामा बोलाउने तर सहमति विनै झुलाइरहेको आरोप लगाउँदै विद्यार्थीले माग पूरा नभएसम्म रिले अनशन जारी रहने बताएका छन् । ‘हामीले राखेका माग पूरा गर्छाै भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ,’ विद्यार्थी प्रवीण गौतमले भने ।
कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ । सन् २०१५ देखिका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए ।
यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना मिश्रले बताइन् ।





