गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, आगामी मार्च १७ तारिख आइतबारका दिन लन्डनस्थित ह्यार्रो फुटबल क्लबमा क्षेत्री समाज बेलायतको आयोजनामा च्यारिटी कार्यक्रम “लन्डन कविता कन्सर्ट सीजन २” को आयोजना हुने भएको छ । महाभूकम्पको अति प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको टेकनपुस्थित कालिका मा.वि.मा विधुतीय पुस्तकालय निर्माणार्थ गर्न लागिएको उक्त च्यारिटी कार्यक्रममा कवि नबराज पराजुली र गजलकार इश्वर दाहालको प्रस्तुती रहनेछ ।
उक्त कार्यक्रमबाट संकलित रकम सिन्धुपाल्चोक जिल्लाको श्री कालिका मा.वि. टेकनपुर विद्यालयमा दुई कोठे भवन सहित विधुतीय पुस्तकालय स्थापनाको लागि सहयोग गरिने भएको छ । वर्षौं देखि बेलायतमा हुँदै आइरहेका सांगीतिक कार्यक्रमहरु भन्दा फरक शैली तथा नेपाली भाषा साहित्य र संस्कृतीलाई जगेर्ना गर्ने उद्देश्यले यस्तो किसिमको साहित्यिक कार्यक्रम गर्न लागिएको क्षेत्री समाज बेलायतका अध्यक्ष राजनकुमार क्षेत्रीले बताएका छन ।
कार्यक्रमलाई सफल पार्नको लागि बेलायतवासी सम्पूर्णमा समाजका तर्फबाट अनुरोध गरिएको छ । यस कार्यक्रमबाट करिब १६ लाख रुपैयाँ बराबरको रकम संकलन गर्ने लक्ष्य रहेको कार्यक्रम समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक रामशरण सिम्खडाले बताएका छन् । कवि जुलीद्वारा गतवर्ष पनि नेप्लिज ब्रिटिस कम्युनिटी (एनबिसी) यूकेको आयोजनामा लन्डन कविता कन्सर्ट सफलाताकासाथ सम्पन्न भएको थियो । सांझ ५ बजेदेखि राती १० बजेसम्म संचालन हुने सो कविता कन्सर्टमा स्थानीय कवि तथा गजलकारहरुको समेत प्रस्तुती रहने छ ।
कार्यक्रममा उपस्थित भइ विधुतीय पुस्तकालय निर्माणको लागि सहयोग पुर्याउनको लागि सम्पूर्ण बेलायतवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुनेहरुको लागि उचित खानपानको समेत प्रबन्ध गरिएको छ ।





