बागलुङ – ६९ औं शहिद दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । बागलुङ नगरपालिकाको नेतृत्वमा सामाजिक संस्था, राजनीतिक दल लगायतले दिवश मनाएका हुन् । बुधबार आयोजित दिवश कार्यक्रममा बोल्ने वक्ताले शहिदको उचित सम्मानका लागि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत बिकास गर्न जरुरी भएको बताए । उनीहरुले देशको विकास र समृद्धिका लागि राजनीतिक दलहरुको एकतामा पनि जोड दिएका थिए । कार्यक्रममा नगरपालिकाका कार्यवहाक प्रमुख सुरेन्द्र खड्काले शहिदले देखाएको बाटो हिडेर जनताको मुहारमा खुसी ल्याउनुपर्ने आवस्यकतामा जोड दिए । स्थानीय तहहरु जिम्मेवार भएर राज्यका संरचनाको संरक्षण र शहिदको सम्मानमा लाग्ने प्रतिवद्धता पनि जनाएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कांग्रेस सभापति दिपेन्द्र बहादुर थापा, नेकपा संयन्त्र सदस्य कृष्ण पाठक, ब्रम्हकुमारी ईश्वरी विश्व विद्यालयकी संचालिका सावित्री दिदी, नेपाल रेडक्रस सोसाईटीका सभापति जब्बरबहादुर लामिछाने, न्यु ओएसिस एकेडेकीकी छात्रा मञ्जुश्री शर्मा लगायतले बोलेका थिए ।
नगरपालिकाका कार्यवहाक प्रमुख सुरेन्द्र खड्काको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरको संचालन र वडा नं. ९ का अध्यक्ष गणेशबहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । मुख्य बजारको बाल उद्याममा भेला भएर प्रभातफेरी गर्दै शहिद स्मृति पार्कमा पुगेर कार्यक्रम गरिएको थियो । शहिदको शालिकमा सहभागिले माल्र्यापण गरेका थिए । २०५४ सालमा बागलुङ नगरपालिका गठन भएपछि रामरेखा सामुदायिक वनले दिएको २९ रोपनी जमिनमा पार्क बनाइएको हो । विभिन्न योजना र दाताको सहयोग जुटाएर डेढकरोड रुपैया खर्च भैसकेको यो पार्क अझै व्यवस्थित बन्न नसकेकोमा सरोकारवालाले टिप्पणी पनि गरेका छन् । शहिदका मुर्ति, भ्यु प्वाइन्ट, फन पार्क, बनभोज स्थल, खानेपानी र सार्वजनिक शौचालय समेत निर्माण गर्ने भनिएपनि अहिलेसम्म त्यस्ता काम भएका छैनन् । टिकट काटेर पर्यटक भित्राउन सकिने बनाउनकै लागि त्यतिठूलो रकम खर्च भएको थियो । नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्त सुवेदीले भने अहिलेसम्म ९० लाख रुपैयाँ मात्र खर्चेको दाबी गरे । पार्कभित्र तत्कालिन समयमा धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्द तथा बागलुङका शहिद थिरबम मल्लको मुर्ति राखिएको छ । उक्त स्थानमा चिडियाखाना समेत बनाउने योजना भएपनि निर्माण नगरी बर्षको एक दिन मात्र खुल्दा जीर्ण बन्दै गएको थियो । शहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत व्यवस्थित बनाउने नगर उपप्रमुख सुरेन्द्र खड्काले बताए ।
‘नगरको पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गरिएको हो’ खड्काले भने ‘सरसफाई र आन्तरिक श्रोत वृद्धिमा परियोजनाले सहयोग पुग्छ ।’ प्रसिद्ध बागलुङ कालिका मन्दिर नजिकै भएकोले उक्त पार्कलाई व्यवसायिक र पर्यटकीय बनाउन सकिने नगरपालिकाले लक्ष बनाएको छ । सदरमुकामकै बिरेन्द्र ऐश्वर्य पार्क अस्तव्यस्त जस्तै छ । प्लाष्टिक र अन्य फोहोरले पार्क अव्यवस्थित बन्दै गएको छ । वडा नं. २ को कार्यालय समेत राखिएको पार्कको व्यवस्थापन तथा सरसफाईका लागि भने पहल भएको छैन । पार्कमा रहेको तत्कालिन विरेन्द्र ऐश्वर्य मूर्ती ढालिएपछि उक्त स्थान अझै भग्नावशेषकै रुपमा छ । त्यसलाई व्यवस्थापन गर्ने काममा लगानी समेत भएको छैन । गणतन्त्र स्थापनापछि उक्त स्थानमा गणतन्त्र पार्क वा अन्य व्यवस्थापन गरिने नेताहरुले गरेको घोषणा पनि अहिलेसम्म कार्यान्वयन नभएको हो । मुख्य बजारमा रहेको खुला स्थानलाई व्यवस्थित पार्क बनाउन सकेमा आम्दानीको श्रोत समेत बनाउन सकिने सरोकारवालाले बताए । ‘हामीलाई जिम्मा दिए व्यवस्थित बनाएर देखाउन सक्छौं’ कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले भने, ‘नगरपालिकाले लाखौं लगानी गरेको स्थान देखेर लाज लाग्ने अवस्था छ ।’
ढोरपाटन दैनिक





