मलेसिया । तीन महिनादेखि तलब नपाएपछि मलेसियाको ग्लोब उत्पादन गर्नै कम्पनी डब्लूआरपीमा कार्यरत दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन्।
कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । हडतालमा उत्रिएका नेपालीहरुले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छन । अहिले कम्पनीमा तोडफोड नहोस् भनेर प्रहरीले उनीहरुलाई घेरा हालेर राखेको छ।
श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताएका छन। हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेका छन् ।
हडताल भएको स्थलमा मलेसियाममा रहेको नेपाली दूतावासले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताएको छ । दूतावासले वार्ताबाटै समस्या समाधान गर्न प्रयास गर्नै र वार्ता नमिलेमा कानुनी प्रक्रियामा जाने जानकारी दिएको छ ।





