काठमाडौं – डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले सामूहिक रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि गणेशमान सिंह भवनको प्राङ्गणमा अनशन जारी छ। अस्पतालले भने उनीहरुलाई अनशन नबस्न अपिल गरेको छ। यसप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जनाएका छन्।
अस्पतालमा कुनै धर्ना, विरोध, बन्द, हड्तालको कार्यक्रम नराखिदिन र मुलुकको ऐननियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप नियमित सेवा प्रदान गर्न उनले अपिल गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरु गरेको विरोध कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रिले अनशन बसेका चिकित्सकविरुद्ध सोमबार दिउँसो केही व्यक्ति मुठभेडमा उत्रिन थालेपछि प्रहरी संख्या बढाइएको छ।
अन्नपूर्णपोष्ट दैनिक





