काठमाडौं। अनशनरत डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै सरकारले बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र कांग्रेसका नेताको नाममा स्थापना भएका दुई वटा अस्पताल खारेज गरेको भन्दै कांग्रेसको भाृत संगठन आन्दोलनमा उत्रिएको छ।
आइतबार विहानै नेविसंले विभिन्न क्याम्पस अगाडि प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेको छ। नेविसंघले प्रधानमन्त्री केपी ओलीको पत्लासमेत दहन गरेको छ।नेविसंघले आइतबार विहान पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढेको भन्दै नेविसंघ आन्दोलित भएको हो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएको केही दिनपछि नै नेविसंघ सरकार विरुद्ध आन्दोलित भएको हो।
सरकारले शुक्रबार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिपक्षको विरोध र अवरोधकाबीच पारित गरेपछि कांग्रेसले पनि सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शैलीमा विधेयक पास गरेको भन्दै सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका थिए। त्यस लगत्तै बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले पनि सरकार विरुद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको थियो।
सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत नराखी खारेज गर्ने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।
सरकारले आफूहरुको माग सम्वोधन नगरेसम्म संसदको कारवाही सुचारु गर्न नदिने अगाडमा रहेको कांग्रेसको अवरोधकाबीच सरकारले विधेयक पारित गरेपछि कांग्रेस आक्रोशित भएको छ।
डिसी नेपाल





