दमौली । तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ।
स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो।
बजार क्षेत्रमा फोहरजन्य वस्तु र प्लाष्टिकको पोका फाल्नेलाई रु पाँच हजारसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिलो पटक अटेर गरी फोहर फाल्नेलाई रु पाँच सय, दोस्रो पटक फोहर फाल्नेलाई रु एक हजार र तेस्रो पटक फोहर फाल्नेलाई रु पाँच हजार जरिवाना गरिनेछ।
प्रवक्ता श्रेष्ठले भने, “फोहरमैला वर्गीकरण नगरी हेलचक्र्याईँ गरेमा फोहरमैला व्यवस्थापन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिनेछ।”
कुहिने, नकुहिने र अस्पतालजन्य एवं विषादीयुक्त फोहरलाई छुट्टाछुट्टै राखी निर्धारित मिति र समयमा फोहरमैला सङ्कलनका लागि आउने नगरपालिकाको साधनमा राख्न नगरवासीलाई आग्रह गरिएको छ। नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि दैनिक तालिका बनाएको छ।
डिसी नेपाल





