पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित हनुमान इँटाभट्टाको डक (पर्खाल) भत्किँदा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इँटा पकाउन बनाएको १० फिट अग्लो डग भत्किँदा नजिक खेलिरहेका चार बालबालिका च्यापिएका थिए । उनीहरूमध्ये रोल्पा गंगादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारकी तीन वर्षीया छोरी जेनिशा र ११ महिने छोरा निर्माणको मृत्यु भएको प्रहरीले जनाएको छ । जेनिशा धुलिखेल अस्पतालमा उपचारका क्रममा र निर्माणको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले बताए ।
त्यस्तै, रोल्पाकै पारी गाउँपालिका–३ की ३५ वर्षीया सीतादेवी पासवान र तीन वर्षीया झरना घर्ती घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान लागि इन्स्पेक्टर दीपक रायको नेतृत्वमा प्रहरी टोली खटाएको छ । इँटाभट्टा सञ्चालक सानु कोजू सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । एक साताअघि पनि पाँचखालकै घट्टाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दा आन्दोलित
मापदण्डविपरीतका इँटाभट्टामाथि रोक लगाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा छन् । उनीहरूले बिहीबार नगरपालिका कार्यालयमा प्रदर्शन गरेका छन् । पाँचखालमा सञ्चालित इँटा उद्योगका कारण जनस्वास्थ्यमा असर परेको जनाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यालय, मन्दिर, पोखरी, जंगल, घना वस्तीलगायतको बीचमा इँटाभट्टा रहेकाले बन्द गर्नुपर्ने पाँचखाल वातावरण बचाउ समितिका अध्यक्ष सूर्य भेटवालले बताए । नगरपालिकाका मेयर महेश खरेलले कानुनविपरीत चलिरहेका इँटाभट्टाको विषयमा निर्णय गर्न उनले आठ दिन समय मागेका छन् ।
नयाँ पत्रिका





