बाजुरा । खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन्। सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन्।
शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन्। जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन्। आर्थिक अभावले सदरमुकाम मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पूरा गरेका युवायुवतीले गाउँमा शिविर सञ्चालनपछि उत्साहपूर्वक सेवा लिएका हुन्।
शिविरबाट ७० वर्षकी खिरीदेवी बुढा, ६९ वर्षकी किर्मुली बुढासहित वृद्धवृद्धाले पनि सेवा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। नागरिकता बनाउनेमध्ये गाउँपालिकाको ५ नं वडाका स्थानीयवासी बढी छन्।
नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल नेतृत्वको टोली खटिएको थियो। यस्तै शिविरबाट ५८१ जनाले फोटोसहितको मतदाता नामावली बनाएका छन्। जसमा ३४८ महिला र २३३ पुरुष छन्। यसैगरी शिविरमा ६९२ जनाले चिकित्सा सेवा पनि लिएका छन्।
तीमध्ये महिला ४६६, पुरुष २२६ रहेका छन्। शिविरमा ३२६ जनाले भिडियो एक्सरे गराएका छन्। भिडियो एक्सरे गराउनेमध्ये २८९ महिला र ४७ पुरुष छन्।
सेवाका लागि डा रुपचन्द्र विश्वकर्मा, डा टीका राई, हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो। गाउँमै चिकित्सक सेवा सञ्चालन गरिएपछि स्थानीयवासीको शिविरमा उत्साहजनक सहभागिता रहेको थियो। पुस २३ र २४ गते दुईदिने शिविरमा उल्लेख्य सहभागिता भएपछि २५ गते थप एक दिन शिविर लम्ब्याइएको थियो।
रासस





