दाङ । युवती घर लिपपोतमा व्यस्त छन्। पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन्। भाँडाकुँडा सबै सफा पारिएको छ। यो दृश्य तुलसीपुर उपमहानगरपालिका-६ रजौराको थारू बस्तीको हो।
थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ। थारू बस्तीमा माघी आउन अब एक हप्ता मात्र बाँकी छ। यहाँका थारू समुदायको बस्तीमा महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन्। पुरुष सुँगुरको मासु काट्नेदेखि लिएर अन्य काममा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमै व्यस्त छन्।
अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ। माघी अघि नै सुँगुर काट्ने, रोटी पकाउनेलगायत काम गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरी बताउछन्। उनले भने, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम एक हप्ता अगाडिबाटै गर्न थालिन्छ।”
मङ्गलबार तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू गाउँमा सुँगुर घरघरमा बाँधेका देखिन्थे भने महिला दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे। उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताए। घर आँगनमा बसेर दुना टपरी बनाउँदै गरेकी ४० वर्षीया बुझौनी चौधरीले भने, “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो बनाउन लागेकी हुँ।”
तुलसीपुरको रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य थारू बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ। तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवीकी ६० वर्षीया मनराखी चौधरी माघीका लागि दुना टपरी बनाउनमै व्यस्त छिन्। आफ्ना बुहारीसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहेकी मनराखीले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताइन्।
तुलसीपुर उपमहानगरपालिका–१५ का ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउनमै ब्यस्त छिन्। उनले भनिन्, “एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी हुँ।” मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेकी शाान्तिले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताइन्।
उनले भनिन्, “चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसक्यौँ, अब गाउँका दिदीबहिनीसँग माछा मार्न जाने सल्लाह भइसकेको छ।” माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु बबई नदी जाने तयारीमा रहेको उनको भनाइ थियो। बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ का ५५ वर्षीया लीला चौधरीले भनिन्, “माछा मार्न गाउँका सबै मिलेर यहाँ आएका छौँ।”
थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। घर घरमा सुँगुर काट्ने चलन छ। यसलाई ‘जिता मरना दिनु’ भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीका साथ खानपिन गरेर रातभर नाचगान गर्ने गरिन्छ। यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ।
माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, तलाउ, पोखरीमा नुहाउन जाने चलन छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ।
डिसी नेपाल





