काठमाडौं। वैदेशिक रोजगारका लागि युनाइटेड अरब इमिरेट्स (युएई ) पुगेका २ सय नेपाली जेलमा परेका छन्। नेपाली राजदूतावास आबुधावीले सन् २०१८ को डिसेम्बर महिनामा युएईका ७ वटा इमिरेट्समा रहेका ८ वटा केन्द्रीय कारागारको भ्रमण गरी तयार पारेको रिपोर्ट अनुसार २ सय नेपाली विभिन्न जेलमा रहेका छन्।
कुन कुन जेलमा कति नेपाली छन् ?
सारजाहको सेन्ट्रल जेलमा ७ जना पुरुष र ३ जना महिला छन्। दुबई सेन्ट्रल जेलमा ६४ पुरुष र ४ जना महिला छन् भने अल अथ्वा सेन्ट्रल जेलमा ९४ जना पुरुष र ४ जना महिला छन्। यसैगरी अजमान सेन्ट्रल जेलमा ४ जना पुरुष छन् भने रस अल खैइमा सेन्ट्रल जेलमा ४ जना पुरुष जेलमा परेका छन्। पुजेरा सेन्ट्रल जेलमा १ जना पुरुष र १ जना महिला जेलमा छन् भने अल अइन जेलमा १४ जना पुरुष जेलमा रहेका छन्।
युएईका ७ वटा जेलमा २ सय नेपाली रहेको रिपोर्टमा उल्लेख छ।
के कारण जेल पर्छन् नेपाली ?
जथाभावी मादक पदार्थ सेवन, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, अनावश्यक होहल्ला तथा झगडा, चोरीमा संलग्न, हत्या, लागुपदार्थ दुव्र्यसनी, अरुको सिग्नेचर चोरी गर्ने तथा चेक र अन्य डकुमेन्ट चोरी गर्ने, करार अवधि सकिएपनि अवैधानिक रुपमा बस्ने लगायतका कारणबाट नेपाली जेलमा पर्ने गरेको राजदूतावासले जनाएको छ।
वैदेशिक रोजगारीका क्षेत्रमा लामो समयसम्म काम गर्दै आएको संस्था एटविनकी अध्यक्ष अन्जना शाक्य भन्छिन्, ‘नेपाली युवालाई भाषागत समस्या तथा रोजगारदाता देशको नीति नियम थाहा नहुँदा उनीहरु जेलमा पर्दछन्।’ संयुक्त अरब इमिरेट्समा जेल पर्ने नेपालीहरुमा सबैभन्दा बढी मादक पदार्थ सेवन, झगडा र मादक पदार्थ सेवन गरी सवारी चलाउने रहेका छन्।
यी विभिन्न कारणबाट जेल पर्नेहरुमा ५८ प्रतिशत नेपाली रहेका छन्। ११ प्रतिशत नेपाली भने करार अवधि सकिएर पनि अवैधानिक रुपमा साउदीमा काम गर्दै आएका कारण जेलमा परेका छन्। चोरी र डकैती गरेको आरोपमा १० प्रतिशत नेपाली कामदार जेलमा परेका छन् र बाँकी अन्य विभिन्न कारण जेल परेका छन्।
ड्राइभिङ काममा रक्सी पिएर गाडी चलाउने नेपाली युवाको ठूलो संख्यामा जेलमा पर्ने गरेको पाइएको छ। रक्सी खाएर गाडी चलाउँदा दुर्घटनामा पर्ने समस्या पनि उत्तिकै रहेको छ। कतिपय नेपाली कामदारलाई युएइको नियम थाहा नहुँदा उनीहरु नेपालमा जस्तै सोचेर छुट्टीको समयमा पार्क तथा समुन्द्र वरपर मदिरा सेवन गर्ने र उनीहरु पक्राउ पर्ने गरेको दूतावासले उल्लेख गरेको छ।
युएईमा सार्वजनिक ठाउँमा बसेर मदिरा सेवन गर्नु कानुन विपरित हो। यसबारे धेरै नेपालीलाई थाहा नभएरै पनि जेल पर्ने गरेका छन्। रोजगारका लागि युएई पुगेका नेपाली कामदारले अचारसँगै भाङ, गाँजा, धतुरो तथा मर्चा लगायतका विभिन्न लागु औषध समेत मिसाएर लैजाने गरेकाले पनि पक्राउ परेका छन्।
जेल पर्ने नेपालीको संख्या बढ्दै
वैदेशिक रोजगारमा युएई पुगेका नेपाली कामदार कतिपयलाई त्यहाँको नीति नियम थाहा नहुँदा र कतिपय युवा जथाभावी अनैतिक काममा संलग्न हुँदा जेलमा पर्नेको संख्या बढ्दै गएको अबुधावी स्थित दूतावासले जनाएको छ। अघिल्लो वर्षको यसै समयमा दूतावास जेल भ्रमण गरेर तयार पारेको प्रतिवेदनमा २ सयभन्दा कमै नेपालीहरु जेलमा रहेको उल्लेख थियो।
यसै अघिल्लो वर्षको असारसम्मको अध्ययनमा १ सय १२ जनाको हाराहारीमा नेपाली कामदार जेलमा रहेका थिए भने यस वर्ष डिसेम्बरमा दूतावासले जेल भ्रमण गरी तयार पारेको अनुसन्धानमा २ सय नेपाली जेलमा छन्।
डिसी नेपाल





