काठमाडौं। गत वर्षको भन्दा चालु आर्थिक वर्षमा नेपाल सरकारले वैदेशिक सहायता ऋण ६० अर्ब भन्दा बढी मागेको छ। गत वर्ष वैशाखदेखि मंसिरसम्म ३२ अर्व ९९ करोड ऋण मागेको थियो भने चालु आर्थिक वर्ष २०७५/०७६ मा झण्डै ९३ अर्ब ६९ करोड ऋण मागेको छ।
त्यस्तै अनुदानतर्फ गत वर्ष ९ अर्ब ६९ करोड अनुदान सहायता रकम आएको थियो भने, चालु आर्थिक वर्षमा झण्डै १८ अर्व ४४ करोड रकम अनुदान सहायता भनेर प्राप्त भएको छ।
गत वर्ष जम्मा ४८ अर्ब ६८ करोड अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएको थियो भने, चालु आर्थिक वर्षको १ खर्व १२ अर्व १३ करोड प्राप्त भएको छ। जसमा अनुदान तर्फ ८ अर्ब ७५ करोड ३० लाख रकम बढी आएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
त्यस्तै ऋण तर्फ पनि गत वर्ष ३२ अर्ब ९९ करोड मागेको थियो भने यो वर्ष ९३ अर्ब ६८ करोड ५० लाख ऋण मागेको छ। जसमा गत वर्षको भन्दा यो वर्ष ६० अर्ब ६९ करोड, ५० लाख ऋण बढी ल्याइएको हो।
चालु आर्थिक वर्ष २०७५/०७६ को ६ महिनामा नेपाल सरकारलाई आएको अनुदान र ऋण बिभिन्न निकायबाट प्राप्त भएको छ।
जसमा वल्र्ड बैंकले नेपाल सरकारलाई आर्थिक सहायता अनुदान ४ अर्ब २८ करोड ६० लाख दिएको छ भने ऋण ३९ अर्ब १६ करोड ३० लाख दिएको छ।
त्यस्तै स्वीजरल्याण्डले २ अर्ब, कोइकाले ५ अर्ब ५० करोड, जापानले ४ अर्ब ९४ करोड २० लाख आर्थिक सहायता अन्र्तगत अनुदान दिएका छन्। त्यस्तै एशियन डेभ्लोपमेन्टले १ अर्ब ७१ करोड ५० लाख अनुदान दिएको छ भने ५४ अर्ब ५२ करोड २० लाख रकम ऋण दिएको छ।
यस वर्षको ऋण तथा अनुदान बिभिन्न शीर्षकका लागि आएको छ। अनुदान अन्र्तगत शिक्षा क्षेत्रका लागि ५ अर्ब ८० करोड ८० लाख, भूकम्पबाट भत्किएका संरचना पुननिर्माणका लागि २ अर्ब ८० करोड, खाद्यान्नका लागि ३ अर्ब ५४ करोड ९० लाख अनुदान प्राप्त भएको अर्थ मन्त्रालयको तथ्याङ्कले जनाएको छ।
त्यस्तै कृषि क्षेत्रका लागि २ अर्ब ६४ करोड ६० लाख, प्रशासन अन्र्तगत (मानव संशाधन विकास) का लागि १ अर्ब ६४ करोड र सामाजिक क्षेत्रका लागि २ अर्ब अनुदान प्राप्त भएको छ।
आर्थिक वर्ष २०७५/०७६ को पहिलो ६ महिनामा आएको अन्तर्राष्ट्रिय सहायत ऋण विभिन्न शीर्षक अन्र्तगत प्राप्त भएको छ। जस अन्र्तगत उर्जा क्षेत्रका लागि १३ अर्ब ८८ करोड ६० लाख नेपाल सरकारलाई ऋण उपलब्ध भएको छ।
त्यस्तै भूकम्पबाट भत्किएका संरचना पुननिर्माणका लागि १७ अर्ब २ करोड ३० लाख, वित्तिय क्षेत्रका लागि ११ अर्ब ६३ करोड, सडक सञ्जाल तर्फ ३६ अर्ब ४८ करोड २० लाख रकम ऋण उपलब्ध भएको छ।
डिसी नेपाल





