त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै रहेको छ । विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने दीक्षान्त पदक यस वर्ष छात्राले धेरै पाएका हुन् । स्नातक र स्नातकोत्तरका सम्पूर्ण परीक्षामा छात्रा नै प्रथम भएका छन् । त्रिविले सोमबार एमफिल, स्नातकोत्तर र स्नातक तहको दीक्षान्त पदक एवं पुरस्कार प्रदान गरेको थियो ।
कुल ३१ पदक तथा पुरस्कारमध्ये १८ छात्राले प्राप्त गरेका छन् । स्नातकोत्तर र स्नातक तहका परीक्षाहरूमा प्रथम हुने विद्यार्थीलाई दिने पदक तथा पुरस्कारसमेत छात्राले नै प्राप्त गरेका छन् । स्नातकोत्तर तहमा रामपुर क्याम्पसकी छात्रा सुलोचना श्रेष्ठ र स्नातकको पदक नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सकी छात्रा स्वेच्छा जोशीले प्राप्त गरे । सुलोचनाको ९०.८८ र स्वेच्छाको ८८.०८ प्रतिशत छ । सुलोचनाले चान्सलरसहित तीन पदक प्राप्त गरिन् । त्रिविकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पछिल्ला वर्षहरूमा छात्राहरूले बढी मेहनत गर्ने गरेकाले नतिजा उत्कृष्ट हुँदै गएको बताइन् । केही वर्षयता विश्वविद्यालयमा छात्रभन्दा छात्राहरूको संख्यासमेत बढ्दै गएको छ ।
सर्वोत्कृष्ट २३ विद्यार्थीमध्ये १४ छात्रा
२३ जना सर्वोत्कृष्ट विद्यार्थी विभिन्न ३१ दीक्षान्त पदक तथा पुरस्कारबाट सम्मानीत भए । सर्वोकृष्ट २३ मध्ये १४ छात्रा छन् । दुई विद्यार्थीले तीन÷तीन पदक प्राप्त गरेका छन् । सम्पूर्ण स्नातकोत्तर तहको परीक्षामा प्रथम हुने रामपुर क्याम्पस चितवनकी सुलोचना श्रेष्ठलाई चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानान्धर स्वर्ण पदक गरी तीनवटा पदकबाट सम्मान गरिएको छ । त्यस्तै, एमए अर्थशास्त्रमा प्रथम हुने अर्थशास्त्र केन्द्रीय विभागका महेश आचार्यलाई तारापद चौधरी पदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक गरी तीनवटा पदक प्रदान गरिएको छ ।
७४ हजार योग्य, साढे नौ हजार सहभागी
त्रिभुवन विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरी एक वर्षको अवधिमा ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८६ विद्यार्थी दीक्षित भएका छन् । सोमवार आयोजित ४४ औं दीक्षान्त समारोह समारोहमा साढे नौ हजार विद्यार्थी मात्र सहभागी भए । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार १८ जेठ २०७४ देखि ३१ जेठ २०७५ सम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८६ जना विद्यार्थी सोमबार दीक्षित भए पनि नौ हजार ५०४ विद्यार्थीको सहभागिता थियो । त्रिविले पुल्चोक क्याम्पसको खेलकुद मैदानमा समारोह आयोजना गरेको थियो । पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भएका छन् । कृषिमा एक सय एक, शिक्षाशास्त्रमा ८५३, मानविकीमा दुई हजार ४०, इन्जिनियरिङमा एक हजार २०९, वन विज्ञानमा २८ दीक्षित भए । त्यसैगरी, कानूनमा १५८, चिकित्सामा ९६६, व्यवस्थापनमा दुई हजार ९६५ र विज्ञानमा एक हजार १८४ विद्यार्थी दीक्षित भए ।
शिक्षामा योजनाबद्ध कार्यक्रम ल्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी ओलीले दीक्षित विद्यार्थीहरूलाई आफ्नो प्रतिज्ञा नबिर्सिन आग्रह गरे । उनले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नबनाएर जीवनको पाठशाला बनाउनुपर्ने बताए । ‘पढेको छ, सर्टिफिकेट हातमा छ, तर खाना पकाउन आउँदैन । पढेको छ, लुगा काट्न सिलाउन आउँदैन, ट्रयाक्टर चलाउन आउँदैन । कृषि पढेको छ, जोत्न आउँदैन भने त्यस्तो जनशक्तिबाट कृषि क्षेत्रले केही लाभ लिन सक्दैन,’ प्रधानमन्त्रीले भने । उनले शिक्षामा योजनावद्ध र विकासको अवधारणा र कार्यक्रम ल्याउनुपर्ने बताए ।
दीक्षान्त समारोहका प्रमुख अतिथि प्राध्यापक महेन्द्र पी.लामाले अबको पिँढीलाई ज्ञानको खेती गराउन र ज्ञानको क्रान्ति ल्याउन मिसन बनाउन सक्नुपर्ने बताए । उनले अब सबैको घरमा एक ठेली पुस्तक हुनुपर्ने र त्यही पुस्तकमा खेलेर बालबालिकाले सिक्न सक्ने वातावरण बनाउनुपर्ने बताए । त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी दिनमा विश्वविद्यालयहरूले आफूलाई अब्बल सावित गर्न ज्ञानको हस्तान्तरण मात्र नभई ज्ञान निर्माणमा केन्द्रित भई विश्वस्तरमा आफ्नो पहिचान दिनसक्नुपर्ने बताए । त्रिवि उपकुलपति प्रा.डा.तीर्थराज खनियाँले त्रिविलाई समुन्नत बनाउन त्रिवि भिजन २०२०–२०३० निर्माण गरी सोहीअनुरूप निश्चित योजना र कार्यक्रमको प्राथमिकताका आधारमा कार्यान्वयन भइरहेको बताए ।
-त्रिभुवन विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरी एक वर्षको अवधिमा ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८६ विद्यार्थी दीक्षित भएका छन् । सोमबार आयोजित ४४औँ दीक्षान्त समारोह समारोहमा नौ हजार ५०४ विद्यार्थी मात्र सहभागी भए । त्रिविले पुल्चोक क्याम्पसको खेलकुद मैदानमा समारोह आयोजना गरेको थियो ।
-पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण विद्यार्थी दीक्षित भएका छन् । कृषिमा १०१, शिक्षाशास्त्रमा ८५३, मानविकीमा २०४०, इन्जिनियरिङमा १२०९, वन विज्ञानमा २८ दीक्षित भए । त्यसैगरी, कानुनमा १५८, चिकित्सामा ९६६, व्यवस्थापनमा २९६५ र विज्ञानमा ११८४ दीक्षित भए ।
नयाँपत्रिका





