गोर्खा अनलाइन रेडियो यूके,
लन्डन — लन्डनमा एक सफल व्यवसायी एवं समाजसेवीको रुपमा परिचित कृष्ण तिमिल्सेनाले आफुले पढेको स्कूलको पुनर्निर्माणको लागि सहयोग गरेका छन् । उनले धादिङ निलकण्ठ नगरपालिका १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि १३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् । विनासकारी भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि विद्यार्थी चौरमा बसेर पढ्न वाध्य भएका थिए । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए । उनले यस बाहेक पनि नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न मानवीय कार्यमा कयौँ पटक सहयोग गर्दै आएका छन् । नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य समेत रहेका तिमिल्सेनाले आफूले पढेको स्कुललाई सहयोग गर्न पाउँदा खुसि ब्यक्त गरेका छन् ।
सहयोग बापतको चेक हस्तान्तरण भएपछि विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले तिमिल्सेनाको सहयोगप्रति आभार व्यक्त गर्दै वालवालिकाको सुन्दर भविष्यमा नयाँ आशा थपिएको बताए । तिमिल्सेनाले नेपालका विभिन्न क्षेत्रमा समेत लागनी गर्दै आएका भने बेलायतका हुने च्यारिटी कार्यक्रममा खुल्ला मनले सहयोग गर्दै आएका छन् । उनि क्रिस फुडका प्रवन्ध निर्देशक समेत रहेका छन् ।





