सिरहा — भौतिक संरचना नभत्काउन उच्च अदालतले दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिबार वडा नम्बर १० स्थित बजार क्षेत्रमा एक व्यवसायीको घरगोदामको मूल गेट र पर्खाल भत्काएको छ ।
धनगढीमाई नगरपालिकाले आफनो स्वामित्वमा रहेको घरगोदाम, भौतिक संरचना र जग्गामा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै व्यवसायी अशोक कुमार अग्रवालले उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण मिश्रित परमादेश माग गरेका थिए ।
उच्च अदालतले धनगढीमाई नगरपालिकाको नाममा २०७५ असार १० गते गैरकानुनी ढंगबाट कसैको निजी सम्पत्तिमा आघात पार्ने, क्षति पुर्याउने लगायत कुनै कानुन विपरीत कार्य गर्न अधिकार नभएकाले निवेदक अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको भौतिक संरचना लगायत जग्गामा समेत आघात पर्ने वा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो ।
धनगढीमाई नगरपालिकाले अदालतको आदेश विपरीत कुनै कानुनी प्रक्रिया नअपनाई एक्कासि शनिबार बिहान ८:४० बजेतिर आफनो स्वामित्वमा पर्ने गोदामघरको मूलगेट, पर्खाल र पर्खालसँग जोडिएको मन्दिर भत्काएर अदालतको अवहेलना गरेको आरोप लगाए ।
मेरो स्वामित्वको सम्पत्तिमा रहेको मूलगेट, पर्खाल र मन्दिर समेत भत्काउन थालेको खबर पाई रोक्न त्यहाँ पुगेका छोराहरू आदित्य र सिद्धिराजलाई समेत नगर प्रमुखको निर्देशनमा वडाध्यक्ष विन्देश्वर यादवसँग आइपुगेकाहरूले कुटपिट गरेको उनले सुनाए ।
‘अदालतमा यसबारेमा मुद्दा चल्दैछ, कमसेकम अदालतको फैसला त पर्खनुस् भन्दै थिएँ, उनीहरूले ममाथि आक्रमण गर्न थालिहाले,’ उनका छोरा आदित्यले भने, ‘हामीलाई विकास गर्नुछ भन्दै उनीहरूले मलाई कुटपिट गरेर मूलगेट, पर्खाल र मन्दिर भत्काउन सुरु गरे ।’
अग्रवालले अदालतको आदेशको अवज्ञा गर्दै नगर प्रमुख हरिनारायण चौधरीको निर्देशनमा वडाध्यक्ष विन्देश्वर यादव र धनगढीमाई नगरपालिकाले सम्पत्ति अतिक्रमण
गरेकाले आफूले पुन: अदालतको ढोका ढक्ढक्याउने बताए ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले अदालती प्रक्रिया निकै लम्बिने र फैसला हुन समय लाग्ने भएकाले विकास निर्माणमा गतिरोध आउने कारण मूलगेट, पर्खाल र मन्दिर भत्काएको बताए । ‘हामीले अदालतको आदेशको अवज्ञा गरेका छैनौ, मूलगेटभित्र १५ फिटसम्म ऐलानी जग्गा पर्छ,’ उनले भने, ‘त्यो ऐलानी जग्गा अग्रवालको स्वामित्वभित्र नपर्ने भएकाले भत्काएका हौं ।’
पटकपटक सहमति र सूचना जारी गरे पनि अटेर गरेपछि विकास गर्न पर्खाल भत्काउनु परेको उनले बताए ।
कान्तिपुर





