काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित भएका छन्। नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित भएका हुन्।
राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्याएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उनलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए। “राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन”, उनले भने। सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पुर्याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उनले बताए।
सो अवसरमा सुदूरपश्चिम क्षेत्र देशकै लागि संस्कृतिको उद्गम स्थल रहेको राष्ट्रकवि घिमिरेले बताए। प्रतिष्ठानले प्रदान गरेको सम्मानप्रति उनले हर्ष व्यक्त गर। पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले राष्ट्रकवि घिमिरेको जति प्रशंसा गरे पनि नपुग्ने बताए।
सोही क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले सर्जकलाई प्रदान गरिने यस्ता पुरस्कारले थप हौसला मिल्ने बताए।
डिसी नेपाल





