कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ। विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो।
जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन्। एउटा घरमा दुईदेखि चार जनालाई राख्न सकिन्छ। प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिएको छ।
घरवासमा आउने पर्यटकका लागि बस्ने उचित व्यवस्थासँगै थारू समुदायको परिकारले सत्कार गर्ने व्यवस्था गरिएको सञ्चालक समितिका कोषाध्यक्ष विस्पती चौधरीले बताए। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बस्तीमा घरवास सञ्चालन गरिएकाले पर्यटकको आगमनमा वृद्धि हुने उनको विश्वास छ। प्रदेशनी चौधरी, जमुना चौधरी, विसपती चौधरी, वसन्ती राना र राजकुमारी चौधरीले पर्यटकको सत्कारमा जुटेका छन्।
“घरवासमा पुग्ने पर्यटकलाई थारू समुदायका विशेष परिकार ढिक्री अन्दीको रोटी तथा भात, हरियो तरकारी, घोगी, स्थानीय जातका कुखुराको मासु, पतौलाका परिकार पस्किने व्यवस्था गरेका छौँ” चौधरीले भने। घरवासमा पुग्ने पर्यटकका लागि खानाको मूल्य परिकारअनुसार रु १३० देखि रु ३०० सम्म तोकिएको छ। पर्यटकलाई मनोरञ्जन प्रदान गर्न नृत्य टोलीसमेत गठन गरिएको छ।
जनहित महाकाली सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार तथा लोपोन्मुख प्रजाति विजयसाल संरक्षित क्षेत्र घरवासमा आउने पर्यटकले रमाउन सक्ने स्थानसमेत यहाँ छन्।
बेदकोट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दोधारा-चाँदनीमा रहेको एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताललगायत पर्यटकीय क्षेत्र नजिकै पर्छन्। घरवास कार्यक्रमबाट न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुने र लोप हुँदै गएको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ।
डिसी नेपाल





