नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ।
प्रत्येक वर्षको कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन नेपाली परिवेशमा कुकुर तिहार मनाइने प्रचलन छ । यसबाहेक उक्त दिन नरक चतुर्दशी पर्व मनाउँदै नरके नुहाउने र हनुमान् जयन्ति पर्व पनि मनाउने चलन छ । उता नेपालको तराई क्षेत्र र समस्त भारतमा कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई रूप चतुर्दशी र छोटी दीपावली भन्ने प्रचलन पनि छ ।
आज कुकुर तिहारका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ। यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ ।
कुकुर यमराजको अर्को प्रीयभक्त हो। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।
डिसी नेपाल





