भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ। निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चीनबाटै ल्याएका मजदुरबाट निर्माणको काम भइरहेको छ।
कालोपत्रे गर्नका लागि मात्रै कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। आयोजनाका निमित्त प्रमुख अधिकारीका अनुसार विमानस्थलको अराईभलको सम्पूर्ण संरचना पूरा भएको छ भने डिपार्टरको पनि अधिकांश संरचना पूरा भएको छ।
अहिलेसम्मको संरचना निर्माणको दृष्टिकोणबाट ५५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए। पछिल्लो पटक थप भएको म्याद अनुसार जुन २८, २०१९ अर्थात् २०७६ असार १३ गतेसम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्मपन्न गरी उडान भर्ने लक्ष्य आयोजनाले लिएको छ।
अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्राविधिक देखि त्यससंग अन्तरसम्बन्धित विभिन्न पक्षको काम सम्पन्न हुनुपर्ने भएकाले पूर्ण रुपमा नसकिए पनि सीमित उडान भने २०७६ असार १३ देखि नै सुरु गर्ने तयारी आयोजनाले गरेको छ।
समयमा निर्माण सम्पन्न नभएपछि आयोजनाका लागि पटक पटक म्याद थप गरिएको थियो। ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय १७ रुपैयाँमा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप चाईनाले विमानस्थल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।
विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि एसियाली बिकास बैंकको ऋण ४० दशमलव ५ प्रतिशत र अनुदान सहायता १८ प्रतिशत, साउदी अरबको साउदी फण्डबाट ३० दशमलव ५ प्रतिशत र नेपाल सरकारले ११ प्रतिशत लगानी रहेको छ।
२०२३ साल देखि नियमित उडान गर्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको पर्याप्त जग्गा भएपनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजनासँगै २०६३ सालमा २ सय १३ बिघा जग्गा थप गरी ७ सय ८७ विघा पुर्याइएको छ।
डिसी नेपाल





