काठमाडौं। कुर्सीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन्। दशैंको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा टीका ग्रहण गर्न पुगेका विशिष्ट व्यक्तिहरूले शिर निहुराएर टीका लगाउनुपरेपछि राष्ट्रपतिको आलोचना शुरू भएको हो।
बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेकेका वा निहुरिनुपर्ने अवस्थाको सृजना हुनु राष्ट्रपतिको सचिवालय र राष्ट्रपतिको सुरक्षामा खटिएको नेपाली सेनाको लापरबाही रहेको बताइएको छ।
दशैंमा आफूभन्दा ठूलोबाट आशीर्वाद लिने प्रचलनअुनसार राष्ट्रप्रमुख भण्डारीसमक्ष टीका ग्रहण गर्न पुगेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले झुकेर टीका लगाएका थिए।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री, उपराष्ट्रपति र मन्त्रीहरूले कुर्सीमै बसेर टीका लगाएका थिए। तर मन्त्रीहरूले टीका लगाएपछि राष्ट्रपतिको सुरक्षामा खटिएका नेपाली सेनाको पालो आएपछि कुर्सी हटाइएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए। ती सदस्यले नेपाल भने– ‘टीका लगाउन आउनुभएका पाहुनालाई अपमान गर्ने, शिर झुकाउने र असहज अवस्थाको सृजना गर्ने कुनै खराब नियत थिएन, राखिएकै कुर्सी हटाइदिएपछि अशोभनीय अवस्था सृजना भएकोमा हामी दुःखी छौं।’
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले शुरूमा विशिष्ट व्यक्तिलाई टीका लगाउन कुर्सी राखिएको र नेपाली सेनाको पालो आएपछि मात्र हटाइएको बताए। उनले नेपाल भने– ‘नेपाली सेनाको प्रचलनअुनसार राष्ट्रपतिसँग झुकेर टीका लगाउने परम्परा रहेछ, त्यही क्रममा सेनाले नै कुर्सी हटाएको हो, सेनाले टीका लगाउने बेलामा नै पूर्वप्रधानन्यायधीश गोपाल पराजुली आएपछि पालो छोडिदिँदा कुर्सी नभएको कारण घुँडा टेकेर टीका लगाउनुभएको हो।’
‘सचिवालयले पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई टीका लगाउन कुर्सी राख्न आग्रह गर्दा उनले नै पर्दैन भनेर टीका लगाउनुभएको हो।’ –उनले भने। राष्ट्रपतिलाई विवादमा तान्ने कोसिस गर्नु गलत भएको बताउँदै सचिवालयले व्यवस्थापकीय पक्षमा पर्याप्त ध्यान दिएको प्याकुरेलले दाबी गरे।
राष्ट्रपति कार्यालयले भने सेनाको संस्कार र व्यवस्थापकीय कमजोरीका कारण विशिष्ट व्यक्तिले अप्ठ्यारोसँग टीका लगाउनुपरेको बताएको छ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा टीका लगाउन आउनुअघि टीका लगाउने ठाउँमा कुर्सी राखिएको भए पनि थापाले टीका थाप्ने बेलामा भने सैनिकले कुर्सी हटाएका थिए। राजनीतिक सल्लाहकार प्याकुरेलले नेपाली सेनाको क्रममा मात्र कुर्सी हटाएको र पछि कुर्सी राखेर नै राष्ट्रपतिले टीका लगाइदिनुभएको बताए।
पराजुलीले घुँडा टेकेर टीका ग्रहण गरेकोलगायतका फोटोको विषयलाई लिएर राष्ट्रपति भण्डारीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।
टीका ग्रहणको फोटोको विषयलाई लिएर सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट टिकाटिप्पणी भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले टीका ग्रहण गर्ने क्रममा कुर्सीको विषयमा नेपाली सेना जिम्मेवार नरहेको बताए। उनले भने– ‘राष्ट्रपतिले अरूलाई टीका लगाइदिँदा सहज हुनुपर्छ, टीका लगाउँदा पनि कसैले निहुरिएर घुँडा टेकिएको छ। राष्ट्रपतिको सुरक्षाको काम मात्र सेनाको हो, व्यवस्थापनको काम राष्ट्रपतिको सचिवालयको हो।’
नेपाली सेनाको ब्यारेकभित्र टीका लगाउँदा पनि उभिएर टीका लगाउने प्रचलन रहेको उनले बताए। नेपाली सेनाले हरेक गणमा दशैंको टीका लगाउने गर्छ। त्यहाँ आफ्ना कमान्डरसँग टीका थाप्दा कि उभिएर वा कमान्डर बसेको भए त्योभन्दा होचो आसनमा बसेर टीका थाप्ने चलन रहेको छ। कुर्सीको व्यवस्थापन गर्न नसक्दा राष्ट्रपतिलाई भने विवादमा तान्ने कोसिस भएको छ।
नेपाल समाचारपत्र दैनिक





