काठमाडौँ । राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ।
आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद्, विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक, सरकारी अधिकारीलगायसँग छलफल गरेको हो।
आयोगका उपाध्यक्ष उषा झाले शिक्षाको दिर्घकालीन योजना बनाउन सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताए। उनले भने, “शिक्षामा रहेका समस्या हटाउँदै अबको बाटो तय गर्नुपर्छ।”
शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वले गरेको प्रविधिका उपलब्धिको प्रयोग शिक्षामा हुनुपर्ने बताए। विद्यार्थीलाई इँटाको विश्वविद्यालयभन्दा पनि इन्टरनेटमार्फत पढाउनुपर्नेमा उनको जोड छ। उनले भने, “प्रविधिको प्रयोग गरेर जहाँ बस्यो त्यहीँ सिक्ने अहिलेको समयको माग हो।”
काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा डा प्रकाशचन्द्र भट्टराईले व्यावसायिक शिक्षाले युवाको विदेश पलायन कम गर्नसक्ने बताए। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा कार्यरत प्रा डा प्रमोद भट्टले माध्यमिक तहमा सिकाइ उपलब्धि कमजोर भएको औँल्याए।
काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा डा सुरेश गौतमले शिक्षामा सरकारको लगानी कम हुँदै जानु दुभाग्यपूर्ण भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए। शिक्षाविद् प्रा डा किशोर श्रेष्ठले देशभरमा रहेका बालविकास केन्द्रमा कार्यरतलाई एकीकृत तालीमको खाँचो रहेको औँल्याए।
आयोगका कार्यक्रम निर्देशक तीर्थराज राईले प्रमुख राजनीतिक दलले राजनीतिक घोषणापत्रमा शिक्षा सुधारको योजना समेटेको बताए।
रासस





