सप्तरी । बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम यादवलाई प्रहरीले पक्राउ गरेको हो।
आरोपित यादवसहित उनका परिवारका सदस्यले आफूहरुलाई बोक्सीको आरोप लगाई गाउँ निकालाको प्रयास गर्दै आएका पीडितले बताएका छन्।
गत भदौ ३० गते बोक्सीको आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँ निकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताए। पक्राउ परेका यादवले जग्गा विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताए।
यस्तै बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का २८ वर्षीय प्रमोद पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। बोक्सी भन्दै गत भदौ १३ गते सोही ठाउँ बस्ने शान्तिदेवी मण्डललाई अमानवीय व्यवहार गरेको आरोपमा पण्डित पक्राउ परेका हुन्। आरोपित पण्डितका बुबा विष्णुदेव पण्डित हालसम्म पक्राउ परेका छैनन्।
डिसी नेपाल





