काठमाडौं। सरकारी अदूरदर्शिता र लापरबाहीका कारण दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ। बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्पन्न भएको हो ।
९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् । ९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।
विभागले नयाँ मोटरसाइकलको दर्ता खुलाउन नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको र केही दिनमा नै समस्या समाधान हुने जानकारी विभाग स्रोतले दिएको छ । नियमावली संशोधनबारे विभागले समयमै पहल नगर्दा सबभन्दा बढी मोटरसाइकल बिक्री हुने चाडबाडको सिजनमा दर्ता रोकिएको हो ।
विभागले अघि बढाएको नियमावली संशोधन प्रस्तावमा अब तीन डिजिटमा लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न सकिने प्रावधान राखेको छ । नियमावली मन्त्रिपरिषदको विधेयक समितिमा पुगिसकेको छ । मन्त्रिपरिषदबाट पारित भई संशोधित नियमावली राजपत्रमा प्रकाशित हुनासाथ नयाँ मोटरसाइकल दर्ता सुरु हुने जानकारी विभाग स्रोतले दिएको छ ।
कान्तिपुर दैनिक





