५५ वर्षपछि पहिलो पटक महिलालाई भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

बीबीसी । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।

उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट-माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए। डा स्ट्रिक्ल्यान्डले अमेरिकाका डा आर्थर याश्किन र फ्रान्सका डा जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन्।

याश्किनले जैविक प्रणालीको अध्ययनमा प्रयोग हुने लेजर प्रविधिको विकास गरेका छन् भने मोरू र स्ट्रिक्ल्यान्डले धेरै सघन तर धेरै छोटा लेजर तरङ्ग उत्पादन गर्ने विधि विकसित गरेका छन्।

ती तरङ्गहरू आँखाको लेजर शल्यक्रियालगायत विभिन्न काममा प्रयोग गर्न सकिन्छ। पुरस्कारराशि ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलरको छ।

क्यानडाको युनिभर्सिटी अफ वाटर्लूमा कार्यरत स्ट्रिक्ल्यान्डले पुरस्कार पाएकोमा पहिला आफू चकित भएको बताइन्। उनले भनिन्, पहिला मलाई हैन होलाजस्तो लागेको थियो। र, यो साँच्चै हैन जस्तो सधैँ लाग्नेछ।

डा जेरा मोरू आफ्ना सुपरीवेक्षक र गुरु भएको भन्दै उनी नै यो पुरस्कारको हकदार भएको स्ट्रिक्ल्यान्डले बताइन्। याश्किनले पनि पुरस्कार पाएकोमा उनले प्रसन्नता व्यक्त गरिन्।

याश्किनले पहिला धेरै आविष्कारहरू गरेका र अरूले तिनकै आधारमा अद्भुत काम गरेका भन्दै स्ट्रिक्ल्यान्डले याश्किनको कामको अन्ततस् मूल्याङ्कन भएको टिप्पणी गरेकी छन्।

पोलन्डमा जन्मिएकी मरी क्युरीलाई सन् १९०३ मा उनका फ्रान्सेली पति पिअर क्युरी र अर्का वैज्ञानिक अत्वाँ अन्री बेकरेलसँगै रेडिओधर्मिताको अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो।

पचपन्न वर्षअघि जर्मनीमा जन्मिएकी अमेरिकी भौतिकशास्त्री मारिआ गोइप्पर्टले परमाणुको केन्द्रसँग सम्बन्धित आविष्कारका लागि नोबल पुरस्कार पाएकी थिइन्। सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो।

शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोले चिकिस्ताशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका छन्।

एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन। अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित