चितवन। पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन्। तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन्।
उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ। उनको अवस्था गम्भिर छ। भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा वसन्तीलाई राखिएको छ।
एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सक डा.सुरेश प्रधानले जानकारी दिP। एसिड प्रहार गर्ने युवक सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन्।
नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका सिर्पालीले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन्। नवलपुरका प्रहरी प्रमुख रमेश थापाले प्रि–प्लान गरेर नै विमलले वसन्ती माथि एसिड प्रहार गरेको जानकारी दिए। गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले उल्लेख गरेका छन्। विमलले लामो समयदेखि आफू वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएका छन्।
आइतवार ८ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी बसन्तीको राती नै अप्रेशन गरिएको छ। उनको दाँहिने र देवे गालाका दुवै तर्फ एसिडका साथैं चक्कु प्रहार गरिएको छ । दाया गालाको हड्डी नै फुटेको छ। देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. सुरेश प्रधानले बताए।
वसन्ती परियार र विक्रम सिर्पालीको घर नजिकै छ। उनीहरु छिमेकी हुन्। वसन्तीका एक छोरा रितिक परियार र छोरी रितिषा परियार रहेका छन्। तरकारी किनेर बजारबाट फर्कदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट वसन्तीको कपाल समातेर अनुहारबाट एसिड खन्याइदिएका थिए। वसन्तीका श्रीमान यमनारायण परियार मलेसियाबाट १ महिना अघि मात्रैं नेपाल आएका थिए। यमनारायण र विमल पनि साथी हुन्।
विमल साउदी अरवबाट ५ महिना अघि नेपाल आएका थिए। विमल र यमनारायणले १२ बर्ष अघि १४ दिनको फरकमा विवाह गरेका थिए। विमलसँग वस्न नसकेपछि उनकी श्रीमती एक सन्तानसहित माइतमा नै वस्दै आएकी छन्। श्रीमतीसँग डिर्भोसको प्रकृयामा रहेका विमलले वसन्तीलाई आँखा लगाएर हुन सक्ने श्रीमान यमनारायणले बताए। वसन्तीका श्रीमान यमनारायणले घटनाका दोषी विमल माथि फाँसीको सजाय हुनुपर्ने माग गरे।
समाचारपत्र दैनिक





