काठमाडौँ। निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मङ्गलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो।
समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने बताए।
डिसी नेपाल





