काठमाडौँ । चार दिनदेखि सवारीसाधन चलाउन बन्द गरेका चालकहरूसँग सहमति जुटेको बताउँदै अबको केही दिनभित्रै काठमाडौँ उपत्यकामा इन्धन आपूर्ति सहज हुने सरकारी अधिकारीहरूले जनाएका छन्।
उनीहरुका अनुसार नेपाल आयल निगमले सवारी साधनलाई सीमित मात्रामा पेट्रोल उपलब्ध गराउने गरी निर्धारण गरेको कोटा प्रणाली भने केही दिन कायमै रहने छ।
पेट्रोलियम पदार्थको अभावका कारण काठमाण्डू उपत्यकाका पेट्रोल पम्पहरूमा बढ्दो लाइनमा भेटिएका कैयौं उपभोक्ताले भने आफ्नो दैनिकी नै बिथोलिएको भन्दै आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।
सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको वार्तामा सहमति भएको अधिकारीहरूको भनाइ छ।