बीबीसी । शक्तिशाली समुद्री आँधी म्याङ्कुट टाइफुनले चीनको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्तमा विनाश निम्त्याइरहेको छ। त्यहाँ प्रतिघण्टा १६२ किलोमिटरको वेगमा हुरी चलिरहेको छ।
हङकङबाट आएको उक्त आँधीबाट बच्न ग्वानडङ प्रान्तले उच्च सतर्कता अपनाएको छ। हङकङमा म्याङ्कुट टाइफुनले गगनचुम्बी घरहरू नै हल्लाइदिएको थियो र झ्यालहरू उडाइदिएको थियो।
फिलिपिन्समा म्याङ्कुट टाइफुनबाट मर्नेहरूको संख्या ४९ पुगेको छ। भीषण वर्षाका कारण गएको पहिरोले सबैभन्दा धेरै ज्यान लिएको बताइएको छ। म्याङ्कुटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी ठानिएको छ। उक्त आँधी जेङमेन शहर नजिकैको चिनियाँ तटमा स्थानीय समय अनुसार आइतवार मध्यान्ह प्रवेश गरेको सरकारी सञ्चारमाध्यले जनाएको छ।
हजारौँ मानिसलाई ग्वानडङबाट हटाइएको छ र अधिकारीहरूले सबैभन्दा उच्च तहको सतर्कता जारी गरेका छन्। हङकङमा पनि अधिकारीहरूले उनीहरूको सबैभन्दा उच्च तहको सतर्कता जारी गरेका छन्।
उडिरहेका भग्नावशेषबाट बच्न मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिइएको छ। त्यहाँ ११७ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ। केही स्थानमा पानीको सतह साढे तीन मिटरसम्म माथि आएको छ र त्यहाँ जिउँदा माछाहरू सडकमा बगेका थिए।
अधिकांश पसलहरू र सार्वजनिक सेवाहरू बन्द गरिएको थियो र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ८०० भन्दा बढी उडानहरू रद्द गरिएको छ।यसले गर्दा एक लाखभन्दा बढी यात्रुहरू प्रभावित भएका छन्। तर सबैजनाले जारी गरिएका चेतावनीलाई वास्ता गरेनन्।
हङकङका बासिन्दा हाओ चेनले समाचार संस्था एफपीसँग भने, आज बिहान म कुद्न गएको थिएँ। मलाई ताजा हावा खान मनपर्छ र सडकमा कोही पनि थिएन, गाडीहरू पनि थिएनन्। सामान्य दिनमा हामीले यस्तो देख्न सक्दैनौँ।
छिमेकी मुलुक मकाउले उसको इतिहासमै पहिलो पटक उसका चर्चित कसिनोहरू बन्द गर्न आदेश दिएको छ। म्याङ्कुट आँधी मंगलवारदेखि कमजोर हुँदै जाने आशा गरिएको छ। अधिकारीहरूका अनुसार फिलिपिन्समा मानिसहरूको मृत्युको प्रमुख कारण पहिरो रह्यो। मृत्यु भएकाहरूमध्ये एकजना शिशु र एउटा बामे सर्ने बच्चा पनि रहेको बताइएको छ।
सडक र सञ्चारसम्पर्क विच्छेद भएका कारण विस्तृत विवरणहरू आउने क्रम अझै जारी छ। म्याङकुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट शनिवार प्रवेश गरेको थियो।५० लाख मानिसहरू सो आँधीमा परेका थिए। टाइफुनले पारेको आर्थिक क्षतिबारे पनि चिन्ता व्यक्त गरिएको छ। एक प्रमुख कृषि प्रान्त कागायानको खेतहरूमा म्याङकुटले व्यापक क्षति पुर्याएको छ।
फिलिपन्समा नियमित रूपमा टाइफुन आइरहन्छन्। तर म्याङकुटले त्यहाँको राष्ट्रिय अभिलेखमा रहेको हालसम्मकै सबैभन्दा शक्तिशाली हायान आँधीलाई सम्झाएको छ।
डिसी नेपाल





