गोर्खा अनलाइन रेडियो यूके,
बेलायत, ३ सेप्टेम्बर सोमबारका दिन बेलायतको बर्मिंगहमस्थित ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिंग हलमा हरितालिका तीजको अवसर पारेर शान्ति नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । तीज कार्यक्रमको साथै तीज गीत प्रतियोगिता समेत राखिएको उक्त कार्यक्रममा ७ सय भन्दा बढीको सहभागिता रहेको थियो । नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक विमलराज क्षेत्री, रमेशराज भट्टराई, गायिकाहरु कला पंगेनी, कला लम्साल र सिर्जु अधिकारीको सहभागिता रहेको थियो ।
शान्ति नेपाली समाजका अध्यक्ष कृष्ण ढकालको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा चिरन्जीवी ढकाल प्रमुख अतिथी र एनआरएन आइसीसी सदस्य रामशरण सिंखडा विशेष अतिथि रहेका थिए । कार्यक्रममा मिडल्याण्ड सेरोफेरोका ६ टोलीहरुले तीज गीत प्रतियोगितामा भाग लिएका थिए । नेपाली जनजीवनमा गाइने ठेट नेपाली र परदेशको पीडा अनि नारी वेदनाले भरिएका मौलिक खालका तीज गीतलाई प्रतियोगीहरुले प्रस्तुत गरेका थिए । गायक विमलराज क्षेत्री,रमेशराज भट्टराई, गायिकाहरु कला पंगेनी, कला लम्साल र सिर्जु अधिकारीका साथै पत्रकार एवं सर्जक फडिन्द्र भट्टराई र मंजु भण्डारी खरेल निर्णायकको भूमिकामा रहेका थिए ।
उक्त तीज गीत प्रतियोगितामा सिर्जनशिल लेस्टर नेपालको टोली प्रथम भएको थियो भने मनकामना महिला समुह वेस्ट बर्मिचको टोली द्वितीय र हाम्रो नेपाली समाज वुल्भरह्याम्प्टनको टोली तृतीय भएका थिए । विजय टोलीलाई समाजका अध्यक्ष्य कृष्ण ढकाल तथा आइएमई लण्डनका निर्देशक कमल पौडेलद्वारा क्रमश: ३ सय, २ सय र १ सय पाउण्ड नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । बेलायतमा गरिने कार्यक्रम्हरुको तुलनामा अलि विशिष्ट ढंगबाट आयोजित उक्त कार्यक्रममा अपेक्ष्या गरेभन्दा बढिको सहभागिता रहेता व्यबस्थापनमा कुनै पनि कमि भएको थिएन ।
प्रमुख अतिथि चिरन्जीवी ढकाल र र विशेष अतिथी रामशरण सिंखडाद्वारा प्रस्तुत शुभकामना मन्तव्य र संस्थाकी उपाध्यक्ष सीता खरेलको स्वागत मन्तव्य बाहेक अन्य कार्यक्रमहरुमा जस्तो भाषणलाई स्थान नदिईएको हुँदा उपस्थित दर्शकहरुले विभिन्न तीज गीत र डीजेको साथमा भरपुर मनोरंजन लिएका थिए । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएको थियो । कार्यक्रमको संचालन सुनिता तिवारी र जानुका गैरेले गरेका थिए । कार्यक्रम हेर्नका लागि मिडल्याण्डका लेस्टर, नटिंगहम,वुल्भरह्याम्प्टन लगायत लन्डनबाट समेत दर्शकहरु उपस्थित भएका थिए ।
फोटो राजेन्द्र पौडेल / टिका अधिकारी
आधा दर्जन नेपाली कलाकारबीच बेलायतमा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न
आधा दर्जन नेपाली कलाकारबीच बेलायतमा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न
तपाईको प्रतिक्रिया





