काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरी गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो।
सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहयोगको अपेक्षा गरिन्। उनले यस क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्।
‘मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताए।
‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग गरे।
बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा समापन गरिएको थियो।
रासस





