आज जनै पूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी मनाईंदै

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, आज देश बिदेशमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदैछ । बेलायतको पनि विभिन्न स्थानमा बस्ने हिन्दू धर्मावलम्बिहरुले ऋषितर्पणी मनाएकाछन । आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारी अर्थात जनै लगाउनेहरुले जनैफेर्ने चलन छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । यो दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ ।

नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । तराई भेगमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
नेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको नाममा बेग्लै रुपमा मनाईने गरिन्छ ।

जनैपुर्णिमामा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन (मतया) गरि बुंगमति नगर परिक्रम गरिन्छ । कृषि प्रधान मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो । काठमाडौ उपत्यकाका किसानले आआफ्ना खेतमा गएर भ्यागुतालाई पूजा गरी भात खुवाउने चलन पनि छ ।
काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गंगा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड लगायतका महादेवस्थान र त्रिवेणीधामहरुमा बिहानैदेखि मेला लागेको छ । नेपाल लगायत बिदेशका विभिन्न मुलुकमा आ-आफ्नो धर्म संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रचलनले हिजोआज निकै व्यापकता पाउँदै गैराखेको छ ।
आजकोदिनको मन्त्र:

“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”
अर्थात्:
“जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।”

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित