कालिकोट। जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका ७ जना उच्च तहका नेताविरुद्ध जिल्ला अदालत कालिकोटमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले मंगलबार नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा कर्णाली राजमार्गको कालेखोला र जिल्ला सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हाताभित्र गराएको बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ जना नेताविरुद्ध बुधबार जिल्ला अदालतमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको जानकारी दिए । उनले कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न भएको अभियोगमा शान्नित्रिवेणी गाउँ पालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको र उनले दिएको वयानका आधारमा नेकपाका उच्च तहका नेताहरुको पनि संलग्नता रहेको देखिएकाले उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता गरिएको बताए ।
नेकपाका पोलिटब्युरो सदस्य भरतबहादुर बम ‘रणवीर’, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धिरेन्द्र उपाध्याय ‘भृकुटी’, जिल्ला ईन्चार्ज लोकजंग शाही ‘समर’, महिला नेतृ शान्ति विक ‘क्रान्ति’ समेतलाई मुद्धा दायर गरिएको छ ।
प्रेसर कुकर बम बिस्फोटमा संलग्न कासे दर्जि सहित नेकपाका उच्च तहका नेताहरु बिरुद्धको मुद्धामा जिल्ला अदालत कालिकोटले बिहीबार सात दिन म्याद थप गरेको छ । जिल्ला अदालत कालिकोटले उनीहरुलाई पक्राउ पुर्जी पनि जारी गरेको छ ।
राजधानी दैनिक





