काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ भने त्रास बढी छ।
देशैभरका विभिन्न स्थानमा बम आतंक मच्चिएकाले त्रास बढेको हो। काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन्।
त्यस्तै बर्दिवास महोत्तरीको बर्दिवास पुलमा पनि बम फेला परेपछि आवागमत प्रभावित भएको छ। पुलमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो। विप्लव नेतृत्वका कार्यकर्ताले त्रास फैलाउन उक्त बम राखेको हुन जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बन्दमा निजी तथा सवारीसाधन भने समान्य रुपमा सञ्चालन भइरहेका छन्।
त्यस्तै आज बिहान मात्रै सूर्यविनायक र लोकन्थलीमा प्रेसर कुकर बम फेला परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ। सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो।
त्यस्तै ललितपुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ। त्यस्तै नैकापमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। उक्त शंकास्पद बस्तु प्रेसर कुकर बम भएको प्रहरीको आशंका छ।
यसैगरी थसिखेल, बटुकभैरवमा पनि फोहोरको थुप्रोमा भेटिएको शंकास्पद बस्तु पनि नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
डिसी नेपाल





