भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ स्थित विष्णु कुण्डलमा डुबेर आइतबार एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुर थिमि बस्दै आएका १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
आज अपराह्न करीब ५ बजे साथीहरुसँग विष्णु कुण्डलमा पौडी खेल्ने क्रममा पोखरीको पर्खालबाट घोप्टिएर पोखरीमा पस्दा पोखरी भित्रको हिलोमा भासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । घटनाबारे जानकारी पाएलगत्तै उद्धारका लागि खटिएको थिमिको प्रहरी टोलीले पोखरीभित्र पसेर शव निकालेको थियो ।
शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । मध्यपुर थिमि नगरपालिकाले यसवर्ष मात्रै रु १० लाख खर्च गरेर उक्त धार्मिक पोखरीको सरसफाइ गरी पर्खाल लगाएको थियो ।
रासस





