सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज जाजरकोटका पहिरोपीडितलाई राहत वितरण गर्नुभएको छ ।
भेरी नगरपालिका–३ ठाँटी बजार खलंगा जाजरकोटमा आइतबार बिहान पहिरोमा परी ज्यान गुमाएका मृतकका आठ परिवारलाई घटनास्थलमै पुगेर कानूनमन्त्री भण्डारीले प्रतिपरिवार रु २५ हजार नगद र खाद्यान्न वितरण गर्नुभएको हो ।
राहत वितरण गर्नु हुँदै मन्त्री भण्डारीले पीडित परिकारको तत्काल व्यवस्थाका लागि रु १० हजार थप्ने र उनीहरुको पुनःस्थापना नहुञ्जेल खाद्यान्न सामग्री उपलब्ध गराउने बताउनुभयो । उहाँले घटनास्थलमा ज्यान गुमाएका मृतकका बालबालिकाको निःशुल्क पठनपाठन गर्ने व्यवस्थाका लागि पहल गर्ने जनाउनुभयो ।
पहिरोपीडित परिवारलाई रु एक लाख
आजै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै मन्त्री भण्डारीले विपद् जोखिमका लागि पूर्वतयारी गर्न समितिलाई निर्देशन दिनुभयो ।
त्यस्तै, सदरमुकाम आसपासका उच्च जोखिममा रहेका घर तथा बस्ती पुनःस्थापनाका लागि विस्तृत प्रतिवेदन तयार गर्न समितिलाई निर्देशन दिइएको मन्त्री भण्डारीले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले मृतक परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको जनाइएको छ ।
मुख्यमन्त्री शाहीद्वारा समवेदना प्रकट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरी नगरपालिका–३ जाजरकोट खलंगामा आइतबार बिहानको पहिरोमा परी एकाघरका चारसहित आठ जनाको मृत्यु, एक बेपत्ता र एकजना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले आज एक शोक वक्तव्य जारी गर्दै सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले पहिरोमा परी ज्यान गुमाएका दिवंगत आत्माहरुमा श्रद्धाञ्जलि, पीडित परिवारजनमा समवेदना प्रकट तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पहिरोमा बेपत्ता नागरिकको खोजी कार्य तीव्र, उद्धार तथा पुनः स्थापनाको कार्यलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभएको छ ।
स्कूल बसको ठक्करबाट बालकको मृत्यु
वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रीतालस्थित भे १ क ४७३ नंको स्कूल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ का ११ वर्षीय बालक प्रदीप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई आज साँझ गाग्रीतालस्थित बाटोमा हिँड्दै गर्दा सुप्रिम बोर्डिङ स्कूलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले जानकारी दिनुभयो ।
बालकलाई ठक्कर दिने वीरेन्द्रनगर–८ इत्राम सुर्खेत निवासी २४ वर्षीय चालक तेजबहादुर राना र बसलाई नियन्त्रण लिई अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
रासस