काठमाडौं। तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ ।
पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समितिसमेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाको विवादित अभिव्यक्तिले राजसंस्था र हिन्दुराज्य पार्टी एकीकरणका लागि बटमलाइन बनेको सहमहामन्त्री सुरेश आचार्यले बताए।
यी दुई वार्ता समितिले औपचारिक रुपमा वार्ता नगरे पनि पार्टी एकताका लागि अनौपचारिक छलफल भने गरेका थिए। पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका वार्ता समिति सदस्य महामन्त्री सुनिल थापाको अभिव्यक्तिलाई लिएर राप्रपाले वार्ता नै स्थगन गरेको छ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री थापाले राप्रपाले एकीकरणको वार्ता अघि बढाउन हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा छोड्नुपर्ने अभिव्यक्ति आएपछि अलमलमा रहेको एकीकरण प्रक्रिया थप विवादित भएको थियो।
विवादित अभिव्यक्ति दिएको र वार्ता प्रक्रिया भाँडेको भन्दै राप्रपा प्रजातान्त्रिकका केशरबहादुर विष्ट समूहले शनिबार छलफल गरी महामन्त्री थापालाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेका थिए । विष्ट राप्रपा राष्ट्रवादीबाट निर्वाचन अघि राप्रपा प्रजातान्त्रिकमा अाएका थिए।
राप्रपा प्रजातान्त्रिकको विधान केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको राजनीतिक प्रस्तावविरुद्ध लागेपछि महामन्त्री थापाको आलोचना र विरोध भएसँगै उहाँ विवाद छल्न हिजो आइतवार केही दिनको लागि विदेश गएको स्रोतले जानकारी दिएको छ । ‘आफ्नो विवादित अभिव्यक्तिप्रति क्षमायाचना गर्दै महामन्त्री थापा तीन हप्ताका लागि आइतबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ’ –स्रोतले भन्यो ।
आफ्नो महामन्त्रीको अभिव्यक्तिलाई राप्रपा प्रजातान्त्रिकले भने पार्टीको आधिकारिक धारणा नभई उनको व्यक्तिगत धारणा भएको जनाउँदै आएको छ। राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री सुरेश आचार्य भन्छन– ‘अहिलेको विवादले एकीकरणको लागि बटमलाइन राजसंस्था र हिन्दु राष्ट्र कायम भएको छ।
राप्रपा प्रजातान्त्रिक र राप्रपा दुवै पार्टीको महत्वपूर्ण एजेन्डा राजसंस्था र हिन्दु राष्ट्र भएको भन्दै उनले एकीकरणका लागि प्रस्थान विन्दु यही हुने धारणा राखेका छन्।
सबै राप्रपा एकीकरण गरी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीभित्र व्यापक आवाज उठिरहेको छ । तीनवटै पार्टीका शीर्ष नेतृत्वले पार्टी एकीकरण गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आलटाल गरेमा तीनवटै पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताले चौथो पार्टी गठन गर्नेदेखि अन्य पार्टीमा प्रवेश गर्नेसम्मको चेतावनीसमेत दिइरहेका छन् । पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि पुराना नेता सबै सल्लाहकारको भूमिकामा बस्नुपर्ने उनीहरुको माग छ।
नेपाल समाचारपत्र दैनिक





