कहिलेकाही हामीले सोच्दै नसोचेका आश्चर्यजनक घटनाहरु हुन्छन् र चमत्कारिक रुपमा निकै जोखिमपूर्ण अवस्थामा रहेकाको ज्यान बाँच्छ । ब्राजिलमा यस्तै आश्चर्यजनक घटना भएको छ । यहाँ एक गर्भवती महिलाको दुर्घटनामा परेर मृत्यु भएको छ । तर, उनको गर्भमा रहेकी छोरी आमाको गर्भ फुटेर बाहिर सडकमा खसिन् । चमत्कारिक रुपमा संसारमा आएकी बालिका भने सुरक्षित रहेको बताइएको छ ।
घटना शनिबार भएको हो । काठका गोलया लिएर गइरहेको ट्रक शनिबार दिउँसो साओ पाउलो र क्युरिटिबाको बीचमा जाँदा सडकमै पल्टियो । यो ट्रकमा एक गर्भवती महिला लिफ्ट लिएर जाँदै थिइन् । दुर्घटनामा ती गर्भवती महिलाको मृत्यु भयो र ट्रक चालक घाइते भए । दुर्घटनाको सूचना पाएपछि प्रहरी तत्कालै उद्धारको लागि घटनास्थलतर्फ गयो ।
घटनास्थलमा पुगेर प्रहरीले काठका गोलिया हटाउँदा त्यहाँ दबिएको महिलाको शव भेटियो । महिलाको पेट फुटेको थियो । त्यहाँबाट केही दूरीमा नवजात बालिका रोइरहेकी भेटिइन् । प्रहरीले तत्काल एम्बुलेन्स बोलाएर बालिकालाई अस्पताल पठायो । अस्पतालले बालिकालाई गियोवान्ना नाम राखिदिएको छ । जसको अर्थ हुन्छ – भगवानद्वारा बचाइएकी । बालिकाका परिवारको खोजी भइरहेको छ । बालिकाका परिवार भेटिएमा उनलाई परिवारको जिम्मा लगाइनेछ नभेटिएमा अनाथालयमा राखिनेछ ।
डिसी नेपाल