बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ।
उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिए।
सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा ब्याडमिण्डन खेल्नका लागि दुई वटा कोर्ट, टेबुलटेनिस, बास्केटबल र फुटसललगायतका खेल खेल्न सकिने उनले बताए। डेढ वर्षअघिदेखि निर्माण कार्य शुरु भएको कभर्डहल अझै एक वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ।
“सैनामैना खेलाडी उत्पादनको क्षेत्र र सबैलाई पायक पर्ने स्थान भएकाले नै यहाँ कभर्डहल निर्माण गर्न लागिएको हो” उपभोक्ता समितिका सचिव शाहीले भने। ८० प्रतिशत काम पूरा भएको कभर्ड हलमा ३०० दर्शक अटाउन सक्ने बताइएको छ।
कभर्डहल निर्माण भएपछि खेलकुदको क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ।
रासस





