Breaking News
Home > Blog > अमेरिकामा नेपाली नर्सहरुको संस्था सानको दोश्रो अधिवेशन भर्जिनियामा हुने

अमेरिकामा नेपाली नर्सहरुको संस्था सानको दोश्रो अधिवेशन भर्जिनियामा हुने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

वासिङ्गटन डिसी । अमेरिकामा नर्सिङ पेशामा सलग्न नेपाली नर्सको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान)को दोस्रो वार्षिक अधिवेशन भर्जिनियाको मनाससमा आयोजना हुने भएको छ।

सानको दोस्रो वार्षिक अधिवेशन भर्जिनियाको मनाससमा यही जुलाई २०, २१ र २२ तारिकमा आयोजना हुने सानकी अध्यक्ष मञ्जु संग्रौलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन्।

अधिवेशनको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा अर्जुन कार्कीले जुलार्इ २१ तारिकका दिन बिहान ९ बजे मनाससको वेष्ट वेस्टर्न होटलमा गर्ने कार्यक्रम रहेको अध्यक्ष संग्रौलाले बताइन्। त्यस्तै त्यही दिन अपरान्ह १ः३० बजे देखि छलफल तथा तथा विभिन्न प्रस्तुतीहरु हुनेछन् भने साँझ स्थानीय कलाकार तथा संस्थामा आवद्ध सदस्य नर्सका साथी, परिवार तथा छोराछोरीले विशेष सांस्कृतिक प्रस्तुती देखाउनेछन्।

त्यस्तै जुलाई २२ तारिकका दिन सोही स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ। शिविरमा कोलेस्टरल तथा सुगरको जाँचको लागि रगत परिक्षण, मेडिकल चेक अप,सीपीआर तथा एइडि अवेरनेस, डेण्टल हाइजिन, कोलन क्यान्सर स्क्रिनिङ्ग, पोषण शिक्षा, रक्त दान, योगा तथा स्वास्थ्यसंग सम्बन्धित विविध कार्यक्रमहरु सञ्चालन हुनेछन्। नि:शुल्क स्वास्थ्य परीक्षण गराउनका लागि बिहान खाली पेटमा आउन पनि आयोजकले सबैमा अनुरोध गरेको छ।

जुलाई २० गतेका दिन साँझ स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत सबै व्यक्तित्व, समाजका अन्य संघसंस्था तथा व्यक्तित्व र सानका बीचमा अनौपचारिक भेटघाट तथा परिचयात्मक अवसर जुटाउने उद्धेश्यले साँझ ६ बजे देखि ९ बजेसम्म ‘कनेक्सन सर्कल’ को आयोजना गरिएको अध्यक्ष संग्रौलाले जानकारी दिइन्।

कनेक्सन सर्कलमा विशेषगरी बालबालिका तथा युवा वर्गलाई हैसला प्रदान गर्नेगरी उनीहरूका प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गरिनेछ।
स्वास्थ्य शिविरका दिन सानले विविध विषय विज्ञ डाक्टरहरुबाट मुटु रोग, ब्लड प्रेसर, डायविटिज लगायत स्वास्थ्य सम्वन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने व्यवस्था समेत मिलाएको पत्रकार सम्मेलनमा अध्यक्ष संग्रौलाले जानकारी गराइन्।

सन् २०११ मा १५ सदस्यीय तदर्थ समिति गठन गरेर २०१५ मा गैर नाफा मुलक संस्थाका रुपमा भर्जिनियामा दर्ता भएको सानले सन् २०१६ मा टेक्ससको डलसमा प्रथम अधिवेशन सम्पन्न गरेको थियो। अमेरिकामा रहेर नर्सिङ पेशामा संलग्न नेपालीका बीचमा सम्बन्ध कायम गर्ने, उनीहरुको व्यवसायिक तथा शैक्षिक वृद्धिका लागि सहयोग तथा उनीहरुको सीप र दक्षतालाई नेपाली समुदायको हितका लागि सदुपयोग गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको संग्रौलाले बताइन्।

सानले वासिङ्गटन डिसी क्षेत्रमा सन् २०१५ देखि हरेक महिना निशुल्क स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने, विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा रक्त दान कार्यक्रम सञ्चालन, निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता काम गर्दै आइरहेको छ।

त्यस्तै यो संस्थाले अमेरिकामा आएर नर्सिङ अध्ययन गर्ने व्यक्तिका लागि केही विश्वविद्यालयमा शुल्क छुटसहित अध्ययन गर्न पाउने व्यवस्था समेत मिलाउँदै आइरहेको छ। सानको यो दोश्रो अधिवेशन तथा नि:शुल्क स्वास्थ्य शिविरमा उपस्थिति भएर स्वास्थ्य लाभ लिन आयोजकले सबैमा अनुरोध गरेको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1