जुम्ला। विगत १८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जतिबेला पनि मुटुको चाल बन्द हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
चिकित्सकका अनुसार केसीको स्वास्थ्यमा असामान्य परिवर्तन देखिन थालेको छ ।
मंगलबार दिउँसोसम्मको पछिल्लो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउँदै उपचारमा संलग्न चिकित्सक डाक्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले केसीलाई सास फेर्न समस्या हुने गरेको बताए । उनले केसीको शरीरमा अक्सिजनको मात्रा ६० रहेको समेत जनाए । ‘केसीको श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० पुगेको छ,’ उनले भने ।
उपचारमा संलग्न डा. धिरज गुरुङले मुटुको चालमा परिवर्तन भई ‘एक्टोपिक बिड्स’हरू देखिन थालेको जनाए । यस्ता असामान्य किसिमका संकेत देखापरेमा बिरामीको मुटु जतिबेला पनि बन्द हुन सक्ने सम्भावना प्रवल रहने उनले बताए । विगत पाँच दिनदेखि डा. केसीलाई थप उपचारका लागि उपकरण र औषधि तयारी अवस्थामा राखिएपछि थप उपचार गर्नुपरे जुम्लामा सम्भव नहुने चिकित्सक बताउँछन् । ‘डा. केसीको धड्कन बन्द भएर आईसीयूमा राख्नुपर्ने अवस्था आएमा जुम्लामा उपचार सम्भव छैन,’ गुरुङले भने ।
यसैबीच, डा. केसीको मागमा समर्थन जनाउँदै पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सेवा ठप्प गरिएको छ ।
डा. केसीको जीवनरक्षा र उनका माग सम्बोधनको माग गर्दै आकस्मिकबाहेकका सेवा अनिश्चित कालका लागि ठप्प पारिएको हो ।
डा. केसीका मागप्रति बेवास्ता गरिएको प्रतिष्ठानका निर्देशक डा. धर्मराज गोसाईंले बताए । उनले भने, ‘डा. केसीका मागप्रति बेवास्ता गरिएको भन्दै उनले माग सम्बोधन नहुँदासम्म सेवा सुचारु गर्दैनौं ।’ ओपीडी सेवा अवरुद्ध भएपछि प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी मर्कामा परेका छन् । राजधानी दैनिक