काठमाडौं। संसदीय निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि आन्तरिक विवादमा फसेको कांग्रेसभित्र पुन गुटको राजनीतिले तिव्रता पाएको छ। पछिल्लो समय ‘गुटै गुट’ मा विभाजित कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई एक्ल्याउने कसरत सुरु भएको छ।
सभापति देउवाले मनोमानी र एकलौटी ढंगले पार्टी संचालन गरेको भन्दै आलोचना भइरहेका बेला सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, अर्जुननरसिंह केसी, प्रकाशमानसिंहलगायतका नेताले आफू निकट केन्द्रीय सदस्यको छुट्टै भेलाको आयोजना गरेका छन्।
राजधानीको एक सहकारी कार्यालयमा बस्ते उक्त भेलामा सभापति देउवाको काम कारवाहीका विषमया समीक्षा हुने बताइएको छ।
एकलौटी ढंगले पार्टी संचालन गरेको भन्दै सभापति देउवाको व्यापक आलोचन भएको थियो।
आफ्नो आलोचनापछि देउवाले पार्टी सधारकालागि गरेका प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा भेलामा समीक्षा हुने बताइएको छ। भेलामा महासमिति बैठक बोलाएपनि विधान मस्यौदा समिति लगायतका समिति गठन गर्ने विषयमा देउवाले जनाएको प्रतिवद्धता कार्यान्वयनतर्फ चासो नदेखाएकाले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।
भेलामा १४ औं महाधिवेशनका विषयमा पनि छलफल हुनेछ। पछिल्लो समय नेता रामचन्द्र पौडेल सभापति देउवासँग मिलेको भन्ने चर्चा भएपछि पौडेलले सो विषयमा सोमबारको भेलामा स्पष्टिकरण दिने बताइएको छ। यसअघि देउवालाई साथ दिएका नेताहरु कृष्ण सिटौला र अर्जुननरसिंह केसीलगायत देउवासँग असन्तुष्ट भन्दै पौडेल पक्षमा आएका छन्।
पौडेल, सिटौला र केसी पक्ष एक ठाउँमा हुँदा पछिल्लो भएका भातृसंगठनको चुनावमा देउवा पक्ष पराजित हुँदै आएको छ। आगामी १४ औं महाधिवेशनमा पनि पौडेल, सिटौला र केसी पक्ष एक ठाउँमा उभिएको अवस्थामा देउवा पक्ष रक्षात्मक हुने कांग्रेसवृत्तमा चर्चा छ।
डिसी नेपाल





