Home > Blog > सत्रअक्षरे कविताप्रति आकर्षण

सत्रअक्षरे कविताप्रति आकर्षण

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ – लामा कविता, खण्डकाव्य, महाकाव्य हुँदै अब छोटा कविता मुक्तक, हाइकुप्रति आकर्षण बढ्दै गएको छ ।
तीनहरफे कविता हाइकु सर्वप्रथम जापानबाट नेपाल भित्रिएको हो । विसं २०१७ मा जापानमा डेढ महिना बिताएर आएपछि साहित्यकार शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याउनुभएको थियो –
माकुरा जाल
ओल्झिएको ओशले
तन्किँदै गयो ।

लामिछानेद्वारा लिखित सत्र अक्षरे उक्त हाइकु विसं २०१९ भदौ अंकमा ‘रुपरेखा’ साहित्यिक पत्रिकामा प्रकाशन भएको थियो । हाइजिन रामकुमार पाँडे भन्नुहुन्छ, “जापानीको सभ्यता भनेकै हाइकु हो, नेपालमा कविता भनेजस्तै जापानमा हाइकु निकै प्रचलित छ ।” जापानमा साहित्यकारको सम्मान जति हुन्छ त्यति नेपालमा साहित्यकारलाई नभएकामा उहाँले दुखेसो पोख्नुभयो । यही असार २० गते विमोचित ‘हजार हाइकु’ पुस्तकमा अटिनुभएका पाँडेले भूमिका बाँध्दै लेख्नुभएको छ, “पारिजातको उपन्यास शिरीषको फूल (२०२२, मदन पुरस्कार प्राप्त) मा भूमिका लेख्ने सन्दर्भमा उनको पुस्तकमा एउटा बेनामी हाइकु परेको छ ।” पारिजातमा हाइकुको कुनै छनक नदेखिएकाले यो पनि लामिछानेकै हाइकु मानिने उहाँले स्पष्ट पार्नुभएको छ । शिरीषको फूलको भूमिकामा लेखिएको हाइकु यस्तो छ–
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।

साहित्यकार पाँडे भन्नुहुन्छ, “प्रमोद प्रधानले ‘हाइकु एक चर्चा’ शीर्षकमा ‘मधुपर्क’मा विसं २०३८ र ‘कदर’ त्रैमासिकमा लेखेका छन्, हाइकु लेखनको शुरुआत शंकर लामिछानेबाट भए पनि उनले यसलाई हुर्काउने प्रयासचाहिँ गरेनन् ।” नेपालमा क्षेत्रप्रताप अधिकारी, पुष्कर लोहनी, रत्नशम्शेर थापा, चेतनाथ धमला, मित्रबन्धु पौडेल, सुषमा मानन्धर, बिके पाल्पाली, रेणुका भट्टराई, दिव्य गिरी, रमेश सागर, मुकुन्द पथिक, विन्दु दाहाल, अञ्जना पौडेल, सावित्री शाह, सुमी लोहनी, ईश्वरीमैयाँ श्रेष्ठ, आरडी प्रभाष चटौत(डोट्याली), लाटो साथी(संस्कृत), रामदयाल राकेश(मैथिली), धर्मराज राजकर्णिकार(नेपालभाषा) आदि हाइकु लेखनमा संलग्न छन् ।

हाइकुमा तीन हरफमा क्रमशः ५–७–५ अक्षर हुन्छन् । यति छोटा शब्दले पनि निकै गहकिला अर्थ दिने गर्दछन् । हाइकुलाई चिनाउन अभि सुवेदीको पनि विशेष योगदान रहेको पाइन्छ । उहाँले उल्था गरेको प्रख्यात एक हाइकु यस्तो छ –
जीर्ण पोखरी
फुत्त भ्यागुतो
निःशब्द ध्वनि ।

हाइकुको इतिहासका बारेमा पाँडे भन्नुहुन्छ “हिमालेसियाकै ठूलो र पुरानो शिव सभ्यता र संस्कृतिबाट विकास भएको छोटो शैलीको काव्य सिर्जना र वैदिक ऋषि–महर्षिले सिर्जना गर्दै बुद्धकालमा पुनर्विकास भएको हो ।”

“जापानको हाइकु मौलिक किसिमको छ,” अर्का साहित्यकार प्रकाश पौडेल ‘माइला’ले भन्नुभयो, “मैले जापान पुगेर मात्र हाइकुको महत्व बुझेंँ ।” पौडेल लेख्नुहुन्छ–
अँधेरी रात
मैनबत्ती पग्लियो
तिमी पग्लिनौ ।

उहाँले स्तरीय हाइकु लेखनमा जोड दिनुभयो । उहाँले ‘हजार हाइकु’ पुस्तकमा जापानी साहित्य र हाइकुको इतिहासका बारेमा लेख्दै जापान परम्परागत सभ्यता, कला र संस्कृतिमा निकै धनी रहेको बताउनुभएको छ ।

जापानको ‘मानयोसु’ काव्य ग्रन्थमा पाँचांै शताब्दीदेखि आठौं शताब्दीसम्म लेखिएका रचना समावेश गरिएको पौडेलले उल्लेख गर्नुभएको छ । उक्त ग्रन्थ जापानी साहित्यमा पूर्ण परिचित किताब हो । उक्त ग्रन्थभित्र चार हजार ५०० भन्दा बढी कविता संगृहीत छन् । ‘मानयोसु’मा संकलित कवि हितोमारो (६३०–७०८) को एउटा ताङ्का यस्तो छ–
आकाशगङ्गा
बादलको छालमा
ताराको वन
जुनको जहाज त
विराम अविराम ।
तान्का हाइकुकै विस्तारित रुप हो जसमा सात–सात गरी दुई हरफ थपिन्छन् । अर्का कवि यामाबेनो आकिहितो (७००–७३६) को तान्का यस्तो छ–
नागानोबाट
खुला भूमिमा आएँ
ठीक अगाडि
हिउँले छोपिएको
सुकिलो फुजिसान ।

जापानी साहित्यको शुरुआतसँगै तान्का इतिहास पनि शुरु भएको बताइन्छ ।
नेपालमा हाइकुको लेखन बढ्दैछ । हाइकुसम्बन्धी केही पुस्तक लेखिएको भए पनि पाँडे र पौडेलले लेख्नुभएको ‘हजार हाइकु’ सबैभन्दा ठूलो हो । पाँडेले जापानमा सुनामी जाँदा अंग्रेजी भाषामा लेख्नुभएको हाइकु विश्वभरिबाट पठाइएका हाइकुमध्ये छानिएका दुईमा परेको थियो । अठार वर्षदेखि जापानमा बस्दै आउनुभएका पौडेलले जापानी हाइकु इतिहासबारे थुप्रै अध्ययन गर्नुभएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …