गोर्खा अनलाइन रेडियो यूके.
लन्डन, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको गीति संग्रह ‘म जस्तै तिमी पनि ’ को बेलायतस्थित नेपाली दूतावासमा भएको एक कार्यक्रममा विमोचन गरिएको छ । गायिका सितु खरेलको एकल स्वर रहेको उक्त गीती एल्वमको विमोचन बरिष्ठ पत्रकार सुमन खरेल र दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानकी अध्यक्ष श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको हातबाट गरिएको थियो । कार्यक्रममा गायिका खरेलले एल्बममा समावेश गीतहरु पनि प्रस्तुत गरेकी थिइन् ।
यस गीती एल्बमलाई नेपालमा भने आगामी सेप्टेम्बरमा मात्र विमोचन गरिनेछ । सोही अवसरमा गायिका सितु खरेललाई २०७४ सालको ‘दुबसु वाङ्मय सम्मान’ ले सम्मानित गरिएको थियो । तेस्तै गरि विभिन्न नेपाली सर्जकका सिर्जनाहरुको श्रव्यकृति बनाएर साहित्यको विस्तारमा सक्रिय सञ्चारकर्मी तथा साहित्यसेवी खगेन्द्र नेपालीलाई यस वर्षको मानश्री पुरस्कारद्वारा सम्मानित गरिएको छ । हाल बेलायतमा बसोवास गर्दै आएका नेपाली सन् १९४६ अप्रिल २५ काठमाडौंमा जन्मिएका हुन् ।
उनले २७ वर्ष बीबीसी रेडियो नेपाली सेवाको प्रमुखका रुपमा रहेर नेपाली भाषाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान गरेका थिए । विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’, डायमनशमसेर राणाको ‘सेतो बाघ’, रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’, स्वामी आनन्द अरुणको ‘सन्त गाथा’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लगायत साहित्यिक कृतिहरुको अडियो बुक उनका लोकप्रिय कृति मानिन्छन् ।
मानश्री पुरस्कारबाट सम्मानीय हुनेहरुमा सनत रेग्मी (२०६६), विजय बजिमय(२०६७), रामदयाल राकेश(२०६८), डा बेन्जु शर्मा(२०६९), किरण मानन्धर(२०७०), नीर शाह(२०७१), दीप श्रेष्ठ(२०७२) र दुर्गाप्रसाद श्रेष्ठ(२०७३) रहेका छन् । वसुन्धराश्री र मानश्री पुरस्कार साहित्य, संस्कृति, कला र संगीतको क्षेत्रमा योगदान पुर्याउने विशिष्ट प्रतिभालाई ०५७ सालदेखि हरेक वर्ष दिइँदै आएको छ ।





