गोर्खा अनलाइन रेडियो यूके,
प्रमिला लाबुंग राई
लन्डन, बेलायतस्थित नेपाली संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे भव्यताका साथ सम्पन्न गरेको छ । रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको संयुक्त आयोजनामा मानिएको उक्त भिक्टोरिया डेको परेडमा ३ सय जनाको सहभागीता रहेको थियो भने बाहिर ४ हजार भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो । स्थानिय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरे बापत, बिगतमा हरेक दुई बर्षमा मनाईने भिक्टोरिया डे, ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्ष देखि हरेक वर्ष मनाउन शुरु गरिएको हो । कार्यक्रममा विभिन्न धर्म, जाती एवं संस्कार र संस्कृति झल्कने पहिरनमा सजिएर नेपालीहरुको सहभागिता रहेको थियो ।
स्थानिय समूदाय र नेपाली समूदाय बिचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजा युके, बि सी सी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लम्जुङ्ग सेवा समाज, किराँत राई यायोखा यु के, मगर संघ यू के, किराँत याक्थुङ्ग चुमलुङ्ग यु के, क्षेत्री समाज यू के, गेसो, मदत समूह, तमुधी यू के, तमु पेलु संघ, गोर्खा आमा समुह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष रामधन राईले बताए । गोर्खा आमा समुहले तीन वटा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रथम नौमती बाजा यूकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएको थियो ।
कार्यक्रमलाइ सफल बनाउन कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो । बिहान ११बजे देखि शुरु भएको सो कार्यक्रम दिनभरी नै चलेको थियो । कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।





