काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो । विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन् । भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी भएपनि हामीले पढाएका थियौँ, अहिले कोही छैन ।’
भाषाविज्ञानका चार सेमेस्टरमा जम्मा १८ विद्यार्थी छन्, पहिलो सेमेस्टरमा चार जना मात्रै । भाषविज्ञान विभागका प्रमुख दुबिनन्द ढकाल आफ्नो विभागमा विद्यार्थीको ठूलो चाप कहिल्यै नहुने भएपनि यति कम संख्या पढाएको अनुभव नरहेको बताउँछन् ।
इतिहास विभागका प्रमुख थापालाई लागेकै थिएन- विद्यार्थीशून्य विभागको जिम्मेवारी सम्हाल्नुपर्ला भनेर । २०३३ सालमा उनी आफै विद्यार्थी हुँदा त्रिविमा इतिहास पढ्नेहरू ४० जना थिए । ‘हामीभन्दा पछिल्लो ब्याचमा ७० जना थिए,’ उनले भने । त्यो त्यस्तो बेला थियो, जतिबेला मानविकी अन्तर्गतका अरु विषयमा पनि सबैभन्दा धेरै विद्यार्थी हुन्थे ।
इतिहास र भाषाविज्ञान उदाहरण मात्र हुन्, मानविकी संकायअन्तर्गतका प्रायः विषयको अवस्था उस्तै छ । विषयको महत्वअनुसार मानविकीभित्र विद्यार्थी भर्नादर फरक-फरक रहेको बताउँछन्, मानविकी संकायका डिन शिवलाल भुसाल । ‘समग्र मानविकीकै अवस्था हेर्दा अरुको तुलनामा यो संकायमा विद्यार्थी घटेका छन् ।’
स्नातकोत्तरमा मात्र हैन, स्नातक तहको अवस्था पनि उस्तै छ । लालबन्दीको जनज्योती मल्टिपल क्याम्पसमा २०७४ सालमा व्यवस्थापन संकाय स्नातकमा १ सय ३५ विद्यार्थी भर्ना भए भने शिक्षा संकायमा ८७ र मानविकीमा जम्मा १५ जना विद्यार्थी भर्ना भएका छन् । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस, दाङमा बिएस्सी प्रथम वर्षमा १०९ जना भर्ना भए भने बिबिएस प्रथम वर्षमा १ सय ६० जना भर्ना भएका छन् । शिक्षा संकायमा १२३ जना र मानविकी स्नातकमा ८४ जना विद्यार्थी भर्ना भए ।
प्लस-टुदेखि नै मानविकी संकायमा विद्यार्थी भर्ना कम हुँदै गएको भुसाल बताउँछन् । त्रिविले आईए कार्यक्रम हटाएपछि मानविकी पढ्ने विद्यार्थी घट्न थालेको अनुमान गरिन्छ । ‘निजी कलेजहरूले जहाँबाट पैसा आउँछ, त्यही संकायलाई प्राथमिकता दिन थाले । मानविकी संकायबाट कम आम्दानी हुने भएकाले हटाए,’ भुसालले भने ।
काठमाडौंका प्लस टु कलेजमा मानविकी पढ्ने विद्यार्थी अझ न्युन छन् । युनिभर्सल कलेज, मैतीदेवीको २०७४ को तथ्यांकअनुसार मानविकीमा २७ जना विद्यार्थी भर्ना भए भने व्यवस्थापनमा २ सय ५६ जना विद्यार्थीले नाम लेखाए । त्यस्तै विज्ञानमा २ सय ९६ जना विद्यार्थीले पढाइ सुरु गरे । क्याम्ब्रिज इन्टरनेसनल कलेज, कलंकीमा व्यवस्थापन संकायमा १ सय ९० जना विद्यार्थी भर्ना हुँदा मानविकीमा ६० जना मात्र भर्ना भए ।
काठमाडौंका केही कलेजले मानविकी संकाय नै हटाइसकेका छन् । विद्यार्थी दर न्यून भएपछि आफूहरूले २०७१ सालबाट मानविकीमा भर्ना रोकेको बताउँछन् नासा कलेजका निर्देशक दशरथ श्रेष्ठ । ‘एक हजारमा ५ जना विद्यार्थी पनि मानविकीमा भर्ना हुन खोज्दैनन्,’ उनले भने, ‘१५ जनासम्म विद्यार्थी आए भने पनि हामी पढाउन सुरु गर्छौं तर आउँदैनन् ।’ केही वर्षअघिसम्म सो कलेजमा ४० जना विद्यार्थीलाई मानविकीमा भर्ना लिएको अनुभव छ उनीसँग । ‘विद्यार्थीको रोजाइ यसरी फेरिएला भनेर मैले सोचेको थिइनँ,’ श्रेष्ठ भन्छन्, ‘मानविकी संकायमा विद्यार्थी घट्न थालेसँगै विज्ञान र व्यवस्थापनमा विद्यार्थीको चाप बढेको छ ।’
किन रुचाइएन मानविकी ?
मानविकी कमजोर विद्यार्थीका लागि बनाइएको संकायजस्तो बन्न पुगेको विज्ञहरूको राय छ । सेकेन्ड्री एजुकेसन इक्जामिनेसन (एसईई)मा आएको नम्बरअनुसार विद्यार्थीले संकाय छनोट गर्ने गरेको बताउँछन् नेपाली शिक्षाबारे अनुसन्धान गरिरहेका समाजशास्त्री प्रमोद भट्ट ।
‘पाठ्यक्रम विकास केन्द्रको व्यवहारले पनि मानविकीलाई छायामा पारिदियो,’ भट्टले भने, ‘विगत तीन वर्षमा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका जारी गर्दा अप्रत्यक्ष रूपमा कम ग्रेड ल्याउनेले मानविकी पढ्ने हो जस्तो बनाइदियो ।’ निर्देशिकाअनुसार विज्ञानजस्ता विषय पढ्न उच्च ग्रेड ल्याउनुपर्नेछ भने जस्तोसुकै ग्रेड ल्याएकाले पनि मानविकी पढ्न पाउँछन् । यसरी हेर्दा ‘राम्रा’ विद्यार्थीले विज्ञान र व्यवस्थापन पढ्ने, ‘कमजोर’ले मानविकी पढ्नेजस्तो अवस्था सिर्जना भयो ।
मानविकीलाई छायामा पार्न बजारको प्रभाव रहेको अनुसन्धाता र शिक्षकहरू बताउँछन् । उच्च शिक्षा हासिल गर्नुको मुख्य उद्देश्य नै रोजगारी भएको छ । यसले जुन विषय पढ्दा रोजगारीका सम्भावना धेरै खुल्छन्, तिनै विषय विद्यार्थीको रोजाइमा पर्न थालेको पाइन्छ । मानविकी संकायका डिन भुसाल भन्छन्, ‘बजारमा स्कोप नभएका विषयमा विद्यार्थी घटिरहेका छन् ।’
बैंक र वित्तीय संस्थाको विस्तारसँगै व्यवस्थापन संकाय मौलायो । त्यस्तै, विद्यालयको सङ्ख्या बढेसँगै शिक्षा संकायमा पनि विद्यार्थीको उपस्थिति उल्लेख्य देखिन्छ । विज्ञान र अन्य प्राविधिक विषयको पनि बजारमा उस्तै आकर्षण छ । मानविकीका विद्यार्थी पढाइ सक्ने बित्तिकै बजारको निश्चित क्षेत्रमा जागिर पाउने अवसर देख्दैनन् । ‘अहिले ग्रामीण विकास र राजनीतिशास्त्र पढ्दैछु तर पढिसकेर के गर्ने भन्ने अन्योल छ,’ रत्नराज्य क्याम्पसमा स्नातक गरिरहेका मनोज खातीले सुनाए ।
मानविकी संकायअन्तर्गतको समाजशास्त्र विषयमा भने आकर्षण घटेको छैन । त्रिवि समाजशास्त्रमा प्रत्येक वर्ष भर्ना हुन चाहने विद्यार्थीको सङ्ख्या बढिरहेको बताउँछन्, समाजशास्त्र विभागका प्रमुख तुलसीराम पाण्डे । ‘भर्ना आवेदन बढिरहेको छ । कोटाअनुसार भर्ना लिइरहेका छौँ,’ उनले भने । एनजिओ÷आएनजिओ र विभिन्न योजनामा समाजशास्त्रका विद्यार्थीलाई लिने थालिएपछि समाजशास्त्रमा भर्ना हुन चाहने विद्यार्थीको भीड बढेको उनले बताए ।
मानविकीका बुद्धिज्म, भाषाशास्त्र, राजनीतिशास्त्र, नेपाली जस्ता विषय विद्यार्थीको रोजाइमा पर्न छाडेका छन् ।
बजारको प्रभावभन्दा पर
रोजगारीका लागि विश्वविद्यालयले बजारमा भर पर्नु नहुने बताउँछन् राजनीतिशास्त्री भाष्कर गौतम । ‘विश्वविद्यालयको काम बजारलाई सघाउनु होइन,’ उनले भने । बरु त्रिवि आफैले आफ्नो बजारको निर्माण गर्नुपर्न उनको भनाइ छ । ‘अध्ययन÷अनुसन्धानको काम प्रतिष्ठित हो, यो काम गरेर समाजमा बाँच्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ,’ उनले तर्क गरे । विश्वविद्यलाय आफैले रोजगारी सिर्जना गर्न सक्ने थुप्रै ठाउँ देख्छन् उनी ।
‘अहिले इतिहास, संस्कृतिजस्ता क्षेत्रमा अध्ययन गर्ने ठाउँ काफी भएकाले यी विषयका विभागले विद्यार्थी आकर्षित गर्ने तरिका सोच्नुपर्ने हो’, उनले भने, ‘काम गर्ने ठाउँ छ भन्ने कुरा पुस्तक प्रकाशनको बजारले पुष्टि गर्छ ।’ अरुले बनाइदिएको बजारमा भर पर्दा विश्वविद्यालय कमजोर हुदै गएको उनको तर्क छ ।
आफै रोजगारी सिर्जना गर्न सक्ने हैसियतमा अहिले त्रिवि नभएको भाषाविज्ञानका प्रमुख ढकाल बताउँछन् । आफैले बजारको निर्माण गर्ने हो भने भाषाविज्ञान संकायमा पनि विद्यार्थीको उपस्थिति बाक्लिने उनको अनुमान छ । ‘विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लगाउन सक्थ्यौँ, त्यसका लागि राज्य र संकाय दुवैले नीति बनाएर अघि बढ्नुपर्छ ।’
विश्वविद्यालय आफ्नो जिम्मेवारीबाट पन्छिएर बजारको माग पूरा गर्न लागिपरेको बताउँछन्, प्राध्यापक अरुण गुप्तो । विषयगत अनुसन्धान, तिनको प्रकाशन तथा प्रवद्र्धनजस्ता काममा विश्वविद्यालयले ध्यान दिए विद्यार्थीलाई पढिसकेर ‘सेटल’ हुन अप्ठ्यारो नपर्ने गुप्तोको ठम्याइ छ । विश्वविद्यालय अनुसन्धानको कामबाट टाढा रहेसम्म मानविकीजस्ता संकायमा विद्यार्थी घट्नुलाई अनौठो मान्दैनन् उनी । ‘अन्य संकायले विद्यार्थीलाई भरपूर अनुसन्धानमा लगाएर आफूलाई जोगाएका छन् भन्ने होइन,’ उनले भने, ‘कतिपय विषय त बजारमा उपलब्ध रोजगारीले मात्रै टिकेको हो, बजारको मात्रै भर परेर कला, संस्कृति र समाजको अध्ययन विस्तारित हुन सक्दैन ।’
त्रिविमा मानविकी ओरालो लागिरहे पनि विश्वविद्यालयबाहिर भने नेपाली इतिहास र समाजसम्बन्धी छलफलहरू बढिरहेका छन् । सहरका पुस्तक मेला, साहित्य गोष्ठी, साप्ताहिक र मासिक छलफलहरूमा यी विषयले प्राथमिकता पाउने गरेका छन् । इतिहास, साहित्य र सामाजिक विषयमा लेखन, विमर्श, पुस्तक प्रकाशन बढ्दो छ । झापाको काँकरभिट्टामा ‘रिडर्स झापा’ अध्ययन समूहले आठ महिने इतिहास अध्ययन कार्यक्रम चलाएको छ । मार्टिन चौतारीले ‘परिवार र राज्य’ र ‘विकास’जस्ता विषयमा पठनसत्र सञ्चालन गरिरहेको छ । चौतारीको केही पठन सत्रमा सहभागी लेखक उज्ज्वल प्रसाई भन्छन्, ‘पत्रपत्रिका र अनलाइन पोर्टलमा समेत हरेक साता नेपाली इतिहास, साहित्य र संस्कृतिबारे सामाग्री छापिएका हुन्छन्, बहस भइरहेका हुन्छन् । सार्वजनिक रुचि बढ्दो छ तर यिनै विषयमा विद्यार्थी नहुनु अनौठो हो ।’
अन्तरविषयक अध्ययनमा जोड
विश्वविद्यालयको व्यवस्थामै कमजोरी भएकाले मानविकीमा आकर्षण ओरालो लागेको विज्ञहरू बताउँछन् । विश्वविद्यालयले पुरानो ढर्रालाई बदलेर विषयमा विविधता ल्याउनुपर्ने प्राध्यापक गुप्तोको राय छ । ‘अंग्रेजी पढाउँदा साहित्यसँगै सामाजिक÷सांस्कृतिक पक्ष पढाउने हो भने रोजगारी पाउन सजिलो हुन्छ,’ उनी भन्छन्, ‘अंग्रेजी कोर्समा विषय र विधा मिश्रण भएकाले नै अंग्रेजीमा स्नातकोत्तर गरेका थुप्रै विद्यार्थीले मानवशास्त्रदेखि जेन्डरसम्मका अनुसन्धान गरिरहेका छन् ।’
अरु संकायमा पनि लिबरल आर्टका कोर्स पढाउनुपर्ने गुप्तोको तर्क छ । ‘विज्ञानको विद्यार्थीले पनि समाज त बुझ्नु पर्याे नि !’ उनले भने । विश्वका थुप्रै विश्वविद्यालयले धेरै पहिलेदेखि अपनाएको अन्तरविषयक अध्ययनको तरिका नेपालले अहिले पनि राम्रोसँग अपनाउन नसकेकाले मानविकी संकटग्रस्त बनेको भाष्कर गौतमको राय छ ।
अनुसन्धाता भट्ट पनि नेपालको शिक्षा पद्धतिमा कमजोरी देख्छन् । एसईई पास नहुँदासम्म सबै विद्यार्थीका लागि एउटै ‘कोर्स’ हुन्छ । अर्थात्, नेपाली, अंग्रेजी, गणित, विज्ञानलगायतका विषय सबैले पढ्नु पर्छ । विद्यार्थीका लागि विषय छान्ने विकल्प हँुदैन । नेपाल सरकारले लागू गरेको कोर्स नै सबै विद्यार्थीले पढ्नुपर्छ । एसईई पास गरिसकेपछि भने विद्यार्थीसँग थुप्रै विकल्प हुन्छन् । प्लस टु लेभलदेखि सुरु भएको विषय÷संकायको ‘सेप्रेसन’ विश्वविद्यालयको पढाइ नसकिँदासम्म जारी रहन्छ । यो पद्धतिमाथि भट्टको प्रश्न छ, ‘विज्ञान पढ्ने विद्यार्थीलाई आलोचनात्मक ढंगले सोच्न समाजशास्त्र वा दर्शन पढ्नबाट किन वञ्चित गर्ने ? ‘
केही दिनअघि एक कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले भने, ‘विद्यार्थी जति माथिल्लो कक्षामा पुग्छ, त्यति नै साँघुरिँदै जान्छ । स्नाकोत्तरसम्म पुग्दा उसले इतिहास, सभ्यता, दर्शनशास्त्र, समाज र साहित्यबारे केही पढ्न पाउँदैन ।’ विद्यालयदेखि उच्च तहसम्म ‘लिबरल आर्ट कन्टेन्ट’लाई महत्वपूर्ण स्थान दिइनुपर्नेमा माथेमाको जोड थियो ।
मानविकीको खाँचो
मानविकीलाई समाज बुझ्ने संकाय पनि भनिन्छ । ‘नट फर प्रोफिटः ह्वाइ डेमोक्रेसी निड्स द ह्युम्यानिटिज’ पुस्तकमा दार्शनिक मार्था नस्बम लेख्छिन्, ‘बाल्यपन, किशोरावस्था, पारिवारिक सम्बन्ध, जीवन, मृत्यु, र मान्छेसँग जोडिएका कथाहरू हुन्छन् समाजमा । त्यसलाई बुझ्न मानविकीले सहयोग पुर्र्याउँछ ।’
नस्बलमे भनेझैं बौद्धिकहरू नेपाली समाजमा मानविकी अध्ययनको खाँचो औंल्याउँछन् । शिक्षाविद् माथेमा डाक्टर, इन्जिनियरदेखि वैज्ञानिक सबैले समाजमा बसेर समाजकै लागि काम गर्नुपर्ने भएकाले ती सबैले इतिहास, संस्कृति, दर्शन आदिबारे पढ्न जरुरी भएको बताए ।
राजनीतिशास्त्री गौतम समाजलाई डोहोर्याउन सघाउने मानविकी संकायको प्रतिष्ठा पुर्नस्थापनाका लागि विश्वविद्यालयले नै गम्भीर भएर सोच्नुपर्नेमा जोड दिन्छन् । ‘काम नलाग्ने वा कमजोरका लागि मात्रै मानविकी संकायको स्थापना भएको हो भन्ने भ्रम चिर्न विश्वविद्यालय आफै अग्रसर हुनुपर्छ’, गौतमको राय छ । लेखक प्रसाई भन्छन्, ‘रूपैयाँ गनेर बस्ने साहु र तिनका हिसाब राखिदिने मुन्सीहरूको मात्रै समाज होइन भने कला, संस्कृति, इतिहास र दर्शन सबैको खाँचो छ हामीलाई । विश्वविद्यालयले यी विषयको अध्ययन रोक्न मनासिब हुँदैन ।’
अन्नपूर्ण पोष्ट





