पछिल्लो समय चल्तीका अभिनेता हुन् – प्रदीप खड्का । लगालग एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झण्डा फहराउँदै गर्दा उनको चर्चा चुलिँदो छ । अहिले उनी नयाँ फिल्म ‘रोजी’ को सुटिङमा व्यस्त छन् । यसपछि उनले फिल्म ‘लभ स्टेशन’ ज्वाइन गर्नेछन् ।
नेपालका ठूला ब्राण्डसँग समेत आवद्ध भएका उनी अचेल चोधरी ग्रुपसँग निकै नजिक छन् । प्रायः उनको भेट यस कम्पनीका प्रमुख व्यक्तिहरुसँग भइरहेको हुन्छ । यसको जबाफ उनको अफिसियल इन्स्टाग्रामले पनि दिन्छ ।
८० हजारभन्दा बढी फलोअर्सका धनी उनले भने जम्मा ११ जनालाई पछ्याउँछन् । जसमा ‘प्रेमगीत’ निर्माता सन्तोष सेनदेखि निर्देशक दिनेश डिसीसम्म छन् । नेपालका अन्य कुनै पनि सेलिव्रेटीलाई फलो नगर्ने उनले बिनोद चौधरीका दुई छोरा वरुण चौधरी र निर्वाण चौधरीलाई भने पछ्याउने गर्दछन् ।
वरुण चौधरी ग्रुपका कार्यकारी निर्देशक हुन् भने निर्वाण प्रवन्ध निर्देशक हुन् । प्रदीपले यी दुई दाजु-भाईसँग कयौँ पटक भेट गरिसकेका छन् । इन्स्टाग्राममा उनले भेटका केही तश्बिरहरु समेत शेयर गरेका छन् । उनले बिनोद चौधरीसँग भेट गरेको एक तश्बिर पनि शेयर गरेका छन् ।
हालैमात्र प्रदीपले भारतका प्रख्यात निर्देशक तथा निर्माता सुभास घईसँग भेट गरेका छन्, जहाँ उनको साथमा वरुण र निर्देशक डिसी पनि थिए । प्राप्त जानकारी अनुसार, चौधरी ग्रुपले एक बिग बजेटको फिल्म निर्माण गर्ने तयारी थालेको छ, जसलाई निर्देशक दिनेश डिसीले निर्देशन गर्न सक्ने प्रवल सम्भावना रहेको खबर प्राप्त छ ।
अभिनेता खड्काको चौधरी ग्रुपसँग देखिएको निकटताले यो प्रष्ट हुन्छ कि उनी उक्त फिल्ममा अनुबन्ध हुन सक्नेछन् । उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनीमाथी इन्भेस्ट गर्न सकारात्मक देखिएको छ । तर, यस विषयमा कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।





