लण्डन। नेपाली साहित्य विकास परिषद् यूकेद्वारा कवि हरिबिभोर कार्कीलाई पाँच तोला प्योर चाँदी र आधा तोला २४ क्यारेट सुनमा बनेको एन एल डि सि गोल्ड मेडल दोस्रा पदक पुरस्कारबाट उनकै निवासमा सुशोभन गरिएको छ।
बिगत चार दसक भन्दा बढि समय देखि बेलायतमा समाज सेवाका साथै नेपाली साहित्य विकास परिषदको स्थापनाकाल १९९५ देखि नै आवद्ध रही नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु–याएको उल्लेखनिय योगदानको कदर गर्दै साहित्यसेवी कवि हरिबिभोर कार्कीलाई एन.एल.डि.सि गोल्ड मेडल पदक पुरस्कारद्वारा सम्मानित गरिएको हो।
स्वास्थ्यको कारणबाट यस अघि सम्पन्न सुशोभन समारोहमा कवि हरिबिभोर कार्की उपस्थित हुन सक्नुभएको थिएन। अल्डरसट स्थित कवि कार्कीको निवासमा पुगि नेपाली साहित्य विकास परिषद यूकेका नव निर्वाचित अध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कवि हरिबिभोर कार्कीलाई गोल्ड मेडल पदक पुरस्कार सुशोभन गरे।
उक्त अवसरमा परिषदका पूर्वअध्यक्ष तथा सल्लाहकार कवि हरिसिँह थापा, उपाध्यक्ष तथा पत्रकार बाचस्पति रेग्मी, महासचिव कवि वीरेन्द्र कुँवर लगायतका पदाधिकारीहरू र श्रीमती मिरा कार्कीको समेत उपस्थिति रहेको थियो। पुरस्कार सुशोभन गर्दै अध्यक्षकवि कोमल प्रसाद श्रेष्ठमल्लले कवि हरिबिभोर कार्कीको साहित्यसेवा र सृजनाको सरहाना गर्दै समस्त साहित्यकारहरूको तर्फबाट वधाई ज्ञापन गरे।
परिषदका पूर्वअध्यक्ष तथा सल्लाहकार कवि हरिसिँह थापाबाट उनीद्वारा लिखित ४ किर्ति मायाको चिनो साथै उपाध्यक्ष तथा पत्रकार बाचस्पति रेग्मी, महासचिव कवि वीरेन्द्र कुँवरले परिषदको तर्फबाट कवि कार्कीलाई बधाईज्ञापन गर्दै सुस्वास्थ्यको कामना गरेका थिए। कवि हरिबिभोर कार्कीका तीन कृतिहरू प्रकाशित छन् र थुप्रै फुट्कर कविता र लेखहरू पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन्।
डिसी नेपाल





