गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाली क्रिकेट क्षेत्रका दुई व्यक्तित्व पारस र सन्दिप अहिले लण्डनमा छन् । लण्डनको ह्यार्रोस्थित माया पबमा बुधबार साँझ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित एक कार्यक्रम ‘मीट एण्ड ग्रीट’ मा दुवै खेलाडी सहभागी भएका थिए । दुवैजनालाई सहभागीहरुको तर्फबाट खादा लगाएर सम्मान गरेका थिए । सहभागीहरुको जिज्ञासालाई पारसले जवाफ दिएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का केहि दिनदेखि नै लण्डनमा रहँदै आएका छन् भने युवा स्पिनर सन्दीप लामिछाने आज बिहिबार सांझ आइसीसी विश्व ११ बाट लार्ड्स मैदानमा वेष्ट इन्डिज विरुद्ध टी- ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न हिजो मंगलबार लन्डन आएका हुन् ।
कप्तान पारस खड्का भने कुनै खेलको शिलसिलामा नभई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकासको खिजिका लागि लन्डन आएका हुन् । भेटघाटका क्रममा उनले प्रशान्त कुँवरको संयोजनमा इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रमुख अधिकारीहरुसँग लर्डसमा भेटघाट गरिसकेका छन् । नेपाली क्रिकेटको क्षेत्रमा तुलनात्मक रुपमा निकै सफलता मिल्दै गइरहेकोले र व्यवस्थापकीय पक्ष्यमा अझ सुधार भएमा सफलता हात पार्न कुनो गाह्रो नभएको पारसले बताए । क्यानको निलम्बन फुकुवापछि खेलाडीको मनोबल बढेको र अझ सफलता मिल्ने उनको धारणा थियो । आगामी जुलाई २९ आइतबारका दिन एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लार्दस्मा हुन गइरहेको त्रिकोणात्मक टि ट्वान्टी खेलमा सहभागी भएर नेपाली खेलाडीहरुको मनोबल बढाउनको लागि पनि अनुरोध गरेका थिए ।
यस अघि लार्ड्समा भएको क्रिकेट खेलपछि नेपाली खेलाडीहरुलाई हेर्ने नजरमा धेरै फरक परेको पारसले बताए । तेस्तैगरि सर्वाधिक महँगो मानिने इन्डियन प्रिमियर लिगमा सन्दीपको प्रवेश र उनको प्रदर्शनीले नेपाली क्रिकेटखेलाडीहरुको उचाई झन् चुलिएको पारसले बताएका थिय । प्रशान्त कुँवरको संयोजनमा सिद्धार्थविक्रमले संचालन गरेको सो ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा नेपाल फुड्स, ट्राभल कन्सोल, ए स्टार फाइनान्सियाल सर्भिस र नेपालीपत्रको सहकार्य रहेको थियो । उक्त अवसरमा लोकप्रिय गायक योगेश्वर आमात्य, एनआरएन आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके महासचिव आरके त्रिपाठी व्यवसायी विराज भट्ट लगायतका अन्य थुप्रै शुभाचिन्तकहरुको उपस्थिति रहेको थियो ।





